हिमाल दैनिक
प्रम ओलीको बलियो र स्थिर सरकार नेकपाकै कारण धरापमा!
ishwor pokhrel_himaldainik
जनताको अत्याधिक बहुमतसहितको बलियो र स्थिर सरकार र यसको नेतृत्व गरिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको असक्षमताका कारण भित्रभित्रै धोद्रो लागेको स्वयं सत्तापक्षकै नेताहरुले स्वीकारोक्ति दिएका छन्। सरकारको नेतृत्व लिएको दुई वर्ष पूरा हुँदा पनि जनतासमक्ष गरेका बाचा बन्धनहरु पूरा गर्न नसकेको सरकारको नेतृत्वविरुद्ध स्वयं सत्तारुढ दलभित्रैका नेता र सांसदहरुले अविश्वास गरेपछि उक्त सरकारसँग देश र जनताले के अपेक्षा गर्ने भन्ने गम्भीर प्रश्न समेत खडा भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध संसदमा अविश्वासको प्रस्ताव ल्याउने चलखेल सुरु भएको आरोप स्वयं सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताए। नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सजाल इन्जाले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री पोखरेलले सरकार गठन भएको दुई वर्ष पुगे लगत्तै अविश्वासको प्रस्ताव ल्याउने खेल सुरु भएको आरोप लगाए। उपप्रधानमन्त्री पोखरेलले नेपाली राजनीतिज्ञहरु मनोरोगले ग्रसित हुँदै गइरहेको भन्दै नेपाल कम्युनिष्ट पार्टीभित्र पनि त्यस्ता मनोरोगीहरु रहेको आक्षेप लगाए। सरकारको नेतृत्व विरुद्ध अरुले ल्याउने कुनै पनि प्रस्तावले कुनै असर नपर्ने अवस्थामा स्वयं नेकपाका नेताहरुमा रहेको मनोरोगका कारण अविश्वासको प्रस्ताव ल्याउने खेल भइरहेको पोखरेलले बताएपनि त्यसरी सत्ताको मनोरोग कुन नेतामा रहेको भन्ने नाम भने किटान गरेनन्। पछिल्लो समय नेकपाभित्र नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गराउने वा नगराउने विषयमा प्रधानमन्त्री ओली र पार्टीका अन्य नेताहरुबीच भएको शक्ति संघर्षका कारण ओली सरकार अप्ठ्यारोस्थितिमा पुगेको छ। सत्ता र कुर्सी नै सर्वोपरी ठान्नेले मुलुकको विकास र समृद्धिमा सहयोग गर्छन् भन्ने विश्वास गर्न नसकिने उनको तर्क छ। उपप्रधानमन्त्री पोखरेलले सरकार सञ्चालनको २ वर्ष पुगेको उल्लेख गर्दै यो अवधिमा धेरै नीतिगत सुधार भएको र तीन वर्ष्भित्र सरकारको परिणाममुखी काम देखिने जिकिर गरे। उनले विभिन्न पेशामा संलग्न भए पनि ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय कार्यक्रममा एकतावद्ध हुन सबैमा आह्वान गरे। कार्यक्रममा मोफसलमा रहि नेपाली भाषा र साहित्यका क्षेत्रमा विशिष्ट योगदान दिने वरिष्ठ साहित्यकार चूडामणि रेग्मीलाई एक हजार डलरसहितको इञ्जा स्रष्टा सम्मान प्रदान गरियो। त्यस्तै बिभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरुलाई सम्मान गरिएको थियो।
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update