नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चारवर्षे नियमित कार्यकाल पूरा हुन दुई दिन अगाडि पाँच केन्द्रीय सदस्य मनोनित गर्दै १३ विभागका प्रमुखहरुको नाम तोकेका छन्।
पार्टी केन्द्रीय कार्यालयबाट जारी विज्ञप्ति अनुसार, विधान तथा नियमावली अनुसार, सभापति देउवाले झापाका पुराना कांग्रेस नेता गोपाल बस्नेत, सुधिर सिवाकोटी धनकुटाका मनोहरनारायण श्रेष्ठ, तनहुँका ध्रुव वाग्ले र दाङका कृष्णकिशोर घिमिरेलाई पार्टीको आमन्त्रित सदस्यमा मनोनित गरेका छन्।
सभापति देउवाले झापाका बस्नेतलाई गत निर्वाचन लगत्तै राष्ट्रिय सभा सदस्यमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने तीन जना सदस्यमध्येमा पनि मनोनयनको सिफारिस गरेका थिए। तर, राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालिन नेकपा एमाले नेता केपी शर्र्मा ओलीको दबाबमा तीन जनाको नाम संविधान अनुसार मनोनित नगरी पछि बनेका ओली सरकारको सिफारिमा अरुलाई नै मनोनित गरेकी थिइन्।
सभापती देउवाले बस्नेतको नाम मनोनयन गर्ने जानकारी पाएपछि पार्टीभित्र तेस्रो धारका नेताका रुपमा परिचित कृष्णप्रसाद सिटौलाले तत्काल बस्नेतको नाम मनोनित गर्ने भए आफ्नो तर्फबाट सुधिर सिवाकोटीलाई पनि मनोनित गर्न दबाब दिएपछि सभापति देउवाले उनको सिफारिसमा संविधान सभाका पूर्व सभासद सिवाकोटीलाई पनि मनोनयनको सूचिमा समावेश गरेका हुन्।
त्यसैगरी देउवाले कुनै समय विद्यार्थी राजनीतिमा उत्कृष्ट भाषण गरेर आम कार्यकर्तामाझ लोकप्रियता कमाएर पनि पछिल्लो राष्ट्रिय राजनीतिमा ओझेलमा परेका तनहुँका ध्रुव वाग्लेसँगै दाङका पुराना कांग्रेस नेता घिमिरेलाई पनि आमन्त्रित सदस्यमा मनोनित गरेका छन्।
विधान अनुसार, सभापतिले मनोनित गर्ने १० आमन्त्रित सदस्यमा अहिलेसम्म अखण्ड नेपाल पार्टीबाट आएका कुमार खड्का, राप्रपाबाट आएका सूर्यबहादुर केसी र नगेन्द्रकुमार चौधरीलाई कटाएर पाँच जनालाई आमन्त्रित सदस्यमा मनोनयन गर्न सक्ने अवस्था रहेको थियो।
यसका अतिरिक्त सभापति देउवाले विधानको प्रावधान अनुसार, अझै पनि दलित कोटाको एक पार्टी सदस्यलाई केन्द्रीय सदस्यमा मनोनित गर्न बाँकी नै छ।
विगत लामो समयदेखि पार्टीभित्रको आन्तरिक द्वन्द्ध सल्टाएर महत्वपूर्ण निर्णय लिने कसरतमा रहेका देउवालाई असन्तुष्ट पक्षले साथ नदिएपछि पछिल्लो समय सभापतिको अधिकार प्रयोग गर्दै अगाडि बढ्न देउवा तयार भएको पछिल्लो समयका गतिविधिले देखाएको छ।
यसैगरी सभाापति देउवाले अबको दुई दिनभित्र पार्टी उपसभापति विजयकुमार गच्छदारको सिफारिसमा उनको पुरानो पार्टी फोरम लोकतान्त्रिकका बढीमा १० जना सम्मलाई पूर्व सहमति अनुसार केन्द्रीय सदस्यमा मनोनित गर्ने तयारी गरिरहेका छन्।
यसैगरी सभापति देउवाले विधानको दफा ३७ (१) को खण्ड (ग) बमोजिम १३ वटा विभागका प्रमुखको नाम पनि सार्वजनिक गरेका छन्। यसअघि संशाेधित विधानमा रहेकाे विभागकाे संख्या २८ बाट बढाएर ४७ पुर्याउन देउवाले राखेकाे प्रस्तावमा असन्तुष्ट पक्षले विवाद गरेपछि पुस ११ गतेकाे केन्द्रीय कार्यसमिति बैठकले देउवाकाे प्रस्ताव पारित गरेकाे थियाे।
यसरी बढाइएका विभागहरूमध्ये विभागको नेतृत्व पाउने नेताहरुमा पार्टी नेता गोपालमान श्रेष्ठ अग्रस्थानमा रहेका छन्।
उनलाई धेरै सदस्यहरुले आँखा लगाएको संगठन विभागको जिम्मेवारी दिइएको छ भने केन्द्रीय सदस्य रमेश रिजाललाई संघीय मामिला तथा प्रदेश समन्वय विभागको प्रमुख बनाएका छन्।
त्यसैगरी फरमूल्लाह मन्सुरलाई मुस्लिम विभाग, अर्जुनप्रसाद जोशीलाई स्थानीय तथ समन्वय विभाग, आनन्दप्रसाद ढुंगानालाई वित्तिय तथा सहकारी संस्था समन्वय विभाग, अजयकुमार चौरसियालाई तराई–मधेस समन्वय विभाग, महेन्द्र यादवलाई यातायात व्यवसायी समन्वय विभाग, शंकर भण्डारीलाई तरुण विभाग, सीता गुरुङलाई आदिवासी जनजाति विभागको नेतृत्व दिइएको छ।
यसका अतिरिक्त गोविन्द भट्टराईलाई नेपाली जनसम्पर्क समिति समन्वय विभाग, चिनकाजी श्रेष्ठलाई उद्योग व्यापार विभाग, प्रवक्ता विश्वप्रकाश शर्मालाई सूचना, संचार तथा प्रचार विभाग, तथा शिवप्रसाद हुमागाँइलाई श्रमिक तथा ट्रेड युनियन विभागको जिम्मा दिइएको छ।
बाँकी रहेका विभागहरुमा पनि सभापति देउवाले अर्को पक्षलाई छुट्ट्याएका विभाग बाहेक बाँकीमा जति सक्दो चाँडो नेतृत्वको जिम्मेवारी बाँडफाँट गर्ने तयारीमा छन् भने रामचन्द्र पौडेल पक्षलाई दिन राखिएका विभागमा पौडेल लगायतका नेताले नाम दिएपछि विभाग प्रमुखको जिम्मा दिने देउवाको तयारी छ।
प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय