नेपाली कांग्रेसको विधान अनुसार, महाधिवेशन भएको चारवर्ष कार्यकाल पुग्नै लाग्दा सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा केही सदस्यहरुको मनोनयनसँगै विभागहरुको गठनको अन्तिम तयारी गरेका छन्।
विधानको प्रावधान अनुसार फागुन १९ गते चारवर्ष कार्यकाल सकिनु अगावै सभापति देउवाले केन्द्रीय समितिमा उपसभापति विजयकुमार गच्छदारको पुरानो पार्टी फोरम लोकतान्त्रिकका तर्फबाट ७ देखि १० जनालाई केन्द्रीय समिति सदस्यमा मनोनित गर्ने तयारी गरिरहेको पार्टी उच्च स्रोतले बतायो।
यसका अतिरिक्त सभापति देउवाले आमन्त्रित सदस्यका रुपमा थप तीनदेखि चारजनालाई मनोनित गर्ने तयारी पनि गरेका छन्।
स्रोतका अनुसार शनिबार अथवा आइतबारसम्ममा देउवाले तीनदेखि चार जनासम्मलाई आमन्त्रित केन्द्रीय सदस्य बनाउने गरी गृहकार्य गरिरहेपनि नाम भने सार्वजनिक गरिएको छैन।
विधान अनुसार, सभापतिले बढिमा १० जनासम्मलाई आमन्त्रित सदस्यमा मनोनयन गर्न सक्ने भएपनि अहिलेसम्म देउवाले ८ जनालाई आमन्त्रित सदस्य बनाएका छन्। यसरी मनोनित भएका आमन्त्रित सदस्यहरुमध्ये अखण्ड नेपाल पार्टी विलय गरी कांग्रेसमा प्रवेश गरेका कुमार खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेर कांग्रेसमा आएका सूर्यबहादुर केसी र नरेन्द्रकुमार चौधरी रहेका छन्।
विधान अनुसार, कुनै पार्टी कांग्रेसमा विलय भएमा अथवा अर्को पार्टी परित्याग गरि कांग्रेसको सदस्यता लिएमा उसलाई पुरानो पार्टीको पदिय हैसियत कायम रहनेगरी पार्टीमा स्थान दिनसकिने प्रावधानका आधारमा खड्का, केसी र चौधरीको नाम विधान बमोजिमको कोटा बाहिर राखेर सभापति देउवाले बाँकी पाँच जनासम्म मनोनित गर्न पाउने अधिकार रहेको छ।
सोही आधारमा तत्काल तीनदेखि चार जना आमन्त्रित केन्द्रीय थप्नुका साथै देउवाले गच्छदारको सिफारिसमा ७ देखि १० जनालाई केन्द्रीय सदस्य मनोनित गर्दैछन्।
यसअघि कांग्रेसमा पार्टी एकीकरण गराएका गच्छदारको पुरानो पार्टी समायोजन समितिमा भएको सहमतिका आधारमा गच्छदारको तर्फबाट ११ जना केन्द्रीय सदस्य थप गर्ने प्रस्तावलाई केन्द्रीय कार्यसमितिले अनुमोदन गरिसकेको छ।
सोही आधारमा दशैं अगाडि नै सभापति देउवाले गच्छदारको सिफारिसमा सदस्यहरुको मनोनयन गर्न नाम मागेपछि गच्छदारले काभ्रेका गणेश लामा र बर्दियाका गोपाल दहितको नाम समेत अघि सारेका थिए। उनीहरुको विषयमा बाहिर आएका नकरात्मक टिप्पणीका कारण देउवाले अहिलेसम्म कुनै निर्णय लिन सकेका थिएनन्।
यसरी गच्छदारको तर्फबाट थपिने सम्भावित सदस्यहरुको सूचिमा फोरमका पूर्व केन्द्रीय सदस्य जीतेन्द्रनारायण देव, रामजनम चौधरी, महेश कर्मोचा, भारतेन्द्र मल्लिक, योगेन्द्र चौधरी, सुमित्रा चौधरी लगायत रहेका छन्।
यसैगरी सभापति देउवाले सम्भवत् १९ गते अगावै सकेसम्म पार्टीभित्र सहमतिकै आधारमा करिब एक दर्जन विभागको गठन गरी विभागका संयोजकको चयन गर्ने तयारी पनि गरेका छन्।
सभापति पदमा निर्वाचित भएलगत्तै विभागहरुको गठनका विषयमा पार्टी नेता रामचन्द्र पौडेलसँग सहमति कायम गरी अघि बढ्ने कोशिश गरेका देउवाले लामो समयसम्म सहमति हुन नसकेपछि चारवर्ष वित्नलाग्दा विभागको संख्या बढाउने प्रस्ताव अघि सारेका थिए।
असन्तुष्ट पक्षले पार्टीको १४औं महाधिवेशनको मिति तोकिइसकेको अवस्थामा विभाग गठन संख्या बढाएर ४७ पुर्याउने र विभाग गठन गर्ने कुराको औचित्य नभएको भन्दै अत्तो थापेपछि सभापति देउवा अप्ठ्यारोमा परेका थिए।
यसका बाबजूद सभापति देउवाले विधान बमोजिम एक वर्ष कार्यकाल थप भएको अवस्थामा सोही अवधिका लागि भएपनि विभाग गठन गरी विभागीय प्रमुख तोक्ने तयारी गरेका हुन्।
यसका लागि सकेसम्म असन्तुष्ट पक्षको तर्फबाट पनि नाम लिएर विभाग प्रमुख बनाउने र नभए आफ्नो तर्फका केही नेताहरुलाई संगठन विभाग, सूचना, संचार तथा प्रचार विभाग, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, जनसम्पर्क समन्वय विभागको जिम्मेवारी दिनसक्ने जानकारी स्रोतले दिएको छ।
यसरी विभागको जिम्मेवारी बाँडफाँट गर्दा सकेसम्म कुनै पनि नेतालाई एउटा महत्वपूर्ण जिम्मेवारी दिएको भए अर्को विभागको जिम्मेवारी नदिने आन्तरिक कार्यविधि बनाइएको छ।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय