अत्याधिक बहुमतसहितको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय पार्टीभित्रै अल्पमतमा परेपछि पार्टी बाहिर विशेषगरी नेपाली कांग्रेसका नेताहरुको साथ र सहयोग खोज्न थालेका छन्।
पहिलो पटक सत्तामा पुगेर बाहिरिएपछिका दिनदेखि गत निर्वाचनको प्रचार प्रसारका क्रममा मात्र होइन दोस्रो पटक झण्डै झण्डै दुई तिहाई बहुमतको सरकारको नेतृत्व लिएपछि प्रधानमन्त्री ओलीले निरन्तर रुपमा कांग्रेस र यसका नेताहरुप्रति विषवमन गरिनैरहे।
तर, पछिल्लो समय पार्टीभित्रको आन्तरिक समिकरणमा आएको बदलाबसँगै वादमेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिमार्फत मनोनित गर्ने र संविधान संशोधन गरी गौतमलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउने विषयमा नेकपाका द्वितीय अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनालबीच मोर्चाबन्दी भएपछि एक्लिएका ओलीले मनको बह बिसाउने चौतारीकोे रुपमा कांग्रेसका नेताहरुलाई नै ठाने।
त्यसैको परिणाम होला, बिहिबार ओलीले कांग्रेस केन्द्रीय सदस्य तथा कोइराला परिवारका सदस्य शेखर कोइरालासँग बालुवाटारमा डेढघण्टा लामो वार्ता।
प्रधानमन्त्री ओलीलाई बिहान ८ः३० बजेदेखि १० बजेसम्म भेटेर निस्किएका नेता कोइरालाका अनुसार, ओलीले आफ्ना सहयोगमार्फत कोइरालाका सहयोगी दिनेशचन्द्र थपलियालाई तीन दिन अगाडि फोन गरेर भेट्ने समय खोजेका थिए।
राजधानी बाहिरबाट बुधबार साँझ काठमाडौं आएका कोइरालालाई बिहिबार बिहान बोलाएपछि उनी बालुवाटारमा पुगे र ओलीसँग एक्लै लामो वार्तालाप गरे।
भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो दलभित्र भएका गतिविधिसँगै आफ्नो जन्मदिनमा बर्थ डे केक काटेको विषयलाई उछालेर बाहिर मिडियामा आफ्ना विरुद्ध प्रचारवाजी भएको गुनासो कोइरालासँग गरेका थिए।
यसका अतिरिक्त उनले पार्टी नेता गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने र उनको सुविधाका लागि संविधान संशोधन गर्ने विषयमा पार्टीभित्रबाट आएको दबाबबारे कांग्रेस र स्वयं कोइरालाको राय मागेको भेटपछि कोइरालाले बताए।
जवाफमा आफूले राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने विषय पार्टीको नभएर सरकारको सिफारिसमा राष्ट्रपतिले निर्णय लिने विषय भएपनि कुनै व्यक्ति विशेषको सुविधाका लागि संविधान संशोधन गर्न नहुने सुझाव दिएको बताए।
‘अहिलेको सरकार र राजनीतिक दलको प्रमुख दायित्व भनेको संविधान सभाबाट बनेको नयाँ संविधानको सफल कार्यान्वयन गराउनु नै हो। यसका लागि दुई वर्ष नपुग्दै व्यक्ति विशेषका चाहनाको परिपूर्तिका लागि संविधान संशोधन गर्ने भन्दा पनि कम्तिमा एक कार्यकाल अर्थात ५ वर्षपछि विचार गर्न सकिने कुरा हो,’ आफूले ओलीलाई दिएको सुझाव बताउँदै कोइरालाले भने।
विशेषगरी गौतमको सट्टा ओलीले वर्तमान अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिएर बाँकी तीन वर्षसम्म उनैको माध्यमबाट विश्व समुदाय र दातृ निकायलाई नेपाल सरकारको पक्षमा विकास कार्यक्रम र लगानी आकर्षण गराउनसँगै विश्वासमा लिन सकिने बुझाइ रहेको छ।
‘प्रधानमन्त्रीजीको कुरा सुन्दा आफूलाई पार्टीभित्र कर्नरमा पारे भन्ने गुनासो देखिन्छ। त्यसका बाबजूद पनि उहाँमा पार्टी र सत्ताको नेतृत्च लिएर अघि बढने सवालमा कन्फिडेन्ट नै देखिनु भयो,’ कोइरालाले भने।
साथै आफूले प्रधानमन्त्री ओलीलाई आफ्नो पार्टीभित्रको आन्तरिक समस्य उनी स्वयंले व्यवस्थापन गर्ने विषय भएपनि राष्ट्रिय राजनीतिको विषयमा प्रतिपक्षी दल कांग्रेसको साथ र सहयोगका लागि पार्टी सभापति शेरबहादुर देउवासँगै कुरा गर्न सुझाव दिएको कोइरालाले बताए।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय