हिमाल दैनिक
भ्रष्टाचारप्रति शून्य सहनशीलता र सुशासनको रटान दिएर नथाक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना प्रियपात्र पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाको सार्वजनिक रुपमै बचाउ गरेर आफ्नै प्रतिबद्धतामाथि प्रश्नचिन्ह खडा गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्ने क्रममा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा स्वीस एजेन्टसँग कमिशन मागेको आरोपमा पदमुक्त भएका सरकारका संचारमन्त्री बाँस्कोटाले बार्गेनिङ गरेको पुष्टि नभएको दाबी गरे। फागुन पहिलो साता बाँस्कोटाले स्वीस एजेन्ट विजयप्रकाश मिश्रसँग ७० करोड कमिशन मागेको अडियो सार्वजनिक भएलगत्तै सत्तारुढ पार्टीभित्र र बाहिर चौतर्फी आलोचना भएपछि मन्त्री पदबाट राजीनामा दिएर प्रधानमन्त्री ओली निवास बालकोटमा बसेका बाँस्कोटाको विषयमा ओलीले बचाउ उत्रिएर थप आलोचनाको स्थिति निम्त्याएका हुन्। उनले प्रेस खरिदको विषयमा सार्वजनिक भएको कमिशन सम्बन्धि अडियोबारे भने, ‘अडियोमा बाँस्कोटाकै आवाज हो भन्ने प्रमाणित भएको छैन।’ साथै उनले आफ्नो जोडिएकाले बाँस्कोटाले नैतिकताका आधारमा राजीनामा गरेको भन्दै अडियो प्रकरणमा बाँस्कोटा दोषी देखिए कारबाही हुने र उनले सजाय भोग्नु पर्ने बताए। फागुन ५ गते काभ्रको एक कार्यक्रममा बाँस्कोटाको सार्वजनिक रुपमा उच्च प्रशंसा गर्दै काभ्रेले प्रतिभा जन्माएको र त्यो प्रतिभा विस्तारै प्रकट हुँदै गएको मात्र होइन सरकारमा रहेका बाँस्कोटालाई तुलामा राख्यो भने एकातिर उनी र बाँकी अरु सबै अर्कोतिर राख्दा पनि बाँस्कोटा नै भारी हुने अभिव्यक्ति दिएका थिए। बाँस्कोटासँगको सामिप्यता र उनीमाथिको अगाध विश्वासकै कारण प्रधानमन्त्री ओली उनलाई मन्त्रीसँगै सरकारको प्रवक्ता बनाएर बसोबासका लागि समेत मन्त्री निवास पुल्चोकको सट्टा बालकोटस्थित आफ्नै निवासमा बसाएका थिए। जहाँ उनी मन्त्री पदबाट मुक्त भएपछि पनि बस्न पुगेका थिए। साथै आफ्नो जन्मदिनमा तेह्रथुमको इवा गाउँस्थित जन्मस्थलमा पुगेर प्रधानमन्त्री ओलीले विगतको राजसंस्थाका प्रतिनिधिको जन्मोत्सवलाई समेत माथ दिनेगरी काठमाडौंबाट यति समूहका प्रतिनिधिले नेपालको नक्सा अंकित केक काटेपछि उनको चौतर्फी आलोचना भएको थियो। उक्त विषयमा ओलीले आफूलाई केक काटेर जन्मोत्सव मनाएको भनि मिडियाले अनावश्यक आलोचना र विवादमा ल्याउन खोजेको आरोप समेत लगाए। उनले आफू मर्न तयार भएपनि भ्रष्टाचार भने हुन नदिने प्रतिवद्धता व्यक्त गरे। पार्टीलाई बद्नाम गर्ने र नेतृत्वको चरित्र हत्या गर्ने काम भइरहेको भन्दै उनले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारको बाटो समाउँछ भन्ने चिन्ता नगर्न पनि आग्रह गरे। उनले भ्रष्टाचारका कुनै पनि मुद्दामा आफ्नो विरुद्ध आरोप र मुद्दा नभएको तर, पत्रिकाले अनावश्यक रूपमा छापेको उनको दाबी छ। प्रधानमन्त्री ओलीले आफूहरुलाई भाँड्न खोज्ने र बदनाम गर्ने प्रयास भइरहेको भन्दै मजबुत संगठनलाई मतभेद रहित र विवादमुक्त गराएर लैजाने बताए। नाकाबन्दी हुँदा, ग्याँसको अभावका बेला नाकाबन्दी शब्द पनि ननिकालेको कांग्रेसले केकमा राष्ट्रवादी बनेको भन्दै उनले तमासा देखाएको आरोप लगाए। यस्तै प्रधानमन्त्री ओलीले अबको केही दिनभित्रै आफूले मृगौला प्रत्यारोपण गर्ने र त्यसपछि सक्रिय भएर सरकारको नेतृत्व गर्ने बताए। प्रधामन्त्री ओलीले नेपालका कम्युनिस्ट पार्टी २०५४ मा विभाजन नभएको भए त्यति नै बेला दुई तिहाई बहुमत आउने भन्दै कम्युनिस्ट पार्टी बलियो भएकाले माघ १९ को ’शाही कू’ विरुद्धको आन्दोलन सफल भएको दाबी गरे। कार्यक्रममा नेकपाका द्वितीय अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र भैरहेका पछिल्लो विवादलाई सामान्य रुपमा लिनुपर्ने बताए। उनले पार्टीलाई कुनैपनि हालतमा फुट्न नदिने विश्वास पनि दिलाए। दाहालले धेरै ठूलो दुःख र मुल्य चुकाएर कम्युनिस्ट पार्टीलाई देशमा अहिले यो अवस्थामा ल्याएको स्मरण गर्दै पार्टी कमजोर हुने, विभाजन गर्ने प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्न एक ढिक्का भएर अगाडि बढ्ने आग्रह गरे। पछिल्लो समय सरकारको काम कारबाहीप्रति पार्टीभित्रै बढ्दै गएको असन्तुष्टि र नेता बामदेव गौतमको राष्ट्रिय सभा सदस्यमा मनोनित पश्चात संविधान संशोधन मार्फत प्रधानमन्त्री बन्ने विषयले नेकपाभित्र ठूलो बबन्डर सुरु भएको छ। त्यसैगरी अध्यक्ष दाहालले एमसीसी अमेरिकी ‘सुपर पावर’लाई संसारमा कायमै राख्ने सैन्य रणनीतिका रूपमा आएकाले यसलाई जस्ताको जस्तै अनुमोदन नगरिने जानकारी दिए। कार्यक्रममा नेकपा नेता माधव कुमार नेपालले नीति र विधान पालनाबाट मात्रै पार्टी बलियो हुने भन्दै पार्टीमा एकता, संघर्ष र विवाद सधै जारी रहने तर त्यो संघर्ष र विवाद पार्टीमा सीमित रहनुपर्ने बताए। त्यस्तै नेता इश्वर पोखरेलले पार्टीभित्र देखिएको असमझदारी तत्काल हटाउनुपर्नेमा जोड दिए। प्रशिक्षण शुक्रबार सम्पन्न हुने नेकपाले जनाएको छ।
प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update