पञ्चायत कालमा तत्कालिन राजा, महाराजाहरुको जन्म दिनमा तत्कालिन शासकहरुले राजा, महाराजाहरुप्रति भक्तिभाव देखाउँदै सरकारी कार्यालय र स्कूलहरुमा सार्वजनिक विदा दिने गर्दथे।
पुस १ गते स्वर्गिय राजा महेन्द्रको, पुस १४ गते राजा विरेन्द्रसँगै कार्तिकमा रानी ऐश्वर्यको जन्मदिनका दिन राजपरिवार, राजा र रानी र राजसंस्थासँगै पञ्चायत व्यवस्थाप्रति भक्तिभाव प्रकट गर्न राजा, महाराजाको जयजयकार गर्दै जिल्ला, गाउँ र वार्र्डसम्म सर्वसाधारणदेखि सरकारी कर्मचारी र स्कूले विद्यार्थी, शिक्षकहरुलाई अनिवार्य उपस्थितिको उर्दी हुन्थ्यो।
दिउँसो विशेष कार्यक्रमको आयोजना गर्दै राजा, रानीको नाममा तत्कालिन प्रधानपञ्च र पञ्चायतका हर्ताकर्ताहरुले कार्यक्रम समापन पश्चात चिया, नास्ता, बालबालिकाहरुलाई चकलेट, कलम, कापी दिने गर्दथे।
बहुदलीय व्यवस्थाको आगमन पश्चात विस्तारै कम भएर गणतन्त्रको स्थापनापछि पूर्ण रुपमा बन्द भएको त्यो संस्कार र परम्पराको गणतन्त्रकालका प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनबाट पनुरागमन भएको छ।
विशेषगरी प्रधानमन्त्री ओलीले शनिबारदेखि नै राजधानीमा आफ्नो ६९औं जन्मदिनको अवसरमा आफ्नो ‘भिजन टु एक्सन’ विमोचन संस्कृतिवीद सत्यमोहन जोशी र कविवर माधवप्रसाद घिमिरेबाट गराए भने आइतबार बिहान बालुवाटारमा सजिसजाउ गर्दै आफ्नो जन्मदिनको अवसरमा केक काटे जहाँ उनको मन्त्रिमण्डलका सदस्यहरुदेखि सचिवालयका सदस्य र परिवारसँगै उनका समर्थकहरुको बाक्लो उपस्थिति रह्यो।
त्यतिले नपुगेर प्रधानमन्त्री ओली आजै अपरान्ह आफ्नो पुख्र्यौली गाउँ तेह्रथुमको आठराईस्थित इवा जाँदैछन्। जहाँ उनको जन्मदिन मनाउन गाउँपालिकाले सार्वजनिक विदा दिएर नयाँ रेकर्ड कायम गरेको छ।
त्यतिमात्र होइन, जन्मदिन मनाउन राज्यको स्रोत र साधनको दुरुपयोग गर्दै हेलिकप्टरमार्फत इवा पुग्न लागेका ओलीको स्वागतमा घर नजिकै हेलिप्याड बनाइएको छ भने त्यहाँदेखि घरसम्म ठाउँ ठाउँमा स्वागत द्वार बनाइएको छ।
बाल्यकालमा परिवारले झापा बसाई सरेपछि बेचेर आएपनि ओलीले पुनः आफ्नो पुख्र्यौली घर किनेर अहिले त्यो घर सजिसजाउ गरिएको छ।
प्रधानमन्त्री ओलीको स्वागतका लागि गाउँपालिकाले सार्वजनिक विदा दिएर स्थानिय सर्वसाधारणसँगै स्थानीय स्कूलहरु पनि विदा मात्र दिएको छैन, उनीहरुलाई औपचारिक पोसक लगाएर अनिवार्य उपस्थितिको उर्दि जारी गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बुलाई उद्रित गर्दै समाचारमा उल्लेख छ।
इवादेखि मनन भण्डारीको पुख्र्यौली घर जोड्ने सडकको समेत आजै उनले शिलान्यास गर्ने कार्यक्रम तय भएको छ।
साथै उक्त अवसरमा ओलीले स्थानीय विद्यार्थीहरुको ठूलो संख्यालाई आफ्नो तस्विर र हस्ताक्षरसहितको डायरी र कलम तथा शैक्षिक सामाग्री वितरण गर्ने कार्यक्रम राखिएको छ।
जसले उक्त क्षेत्रमा आजभन्दा करिब ३० वर्ष अघि पञ्चायतकालमा तत्कालिन राजा, महाराजा र राजपरिवारका सदस्यहरुको जन्मदिनको झल्को दिलाएको कतिपय स्थानीय बासिन्दाको प्रतिक्रिया छ।
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय