सरकारकै मन्त्रीले विदेशी एजेन्टसँग करोेडौंको कमिशन मागेको अडियो सार्वजनिक भएलगत्तै पदमुक्त भएका पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटामाथि अनुसन्धान गर्नु पूर्व सम्बन्धित निकायले सरकार र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वसँग अनुमति मागेको तथ्य बाहिरिएको छ।
सरकारले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि गरेको निर्णय कार्यान्वयनका क्रममा पूर्वमन्त्री बाँस्कोटाले स्वीस एजेन्ट विजय प्रकाश मिश्रसँग ७० करोड कमिशन मागेको अडियो सार्वजनिक भएपछि पदबाट हटेर प्रधानमन्त्रीको निजी निवास बालकोटमा शरण लिन पुगेका थिए।
बाँस्कोटामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायले उनको विषयमा तत्काल छानविन र अनुसन्धान प्रक्रिया थाल्नु सट्टटा सरकार र पार्टी नेतृत्वसँग परामर्श गरेर आफ्नो संवैधानिक हैसियत र जिम्मेवारी बमोजिमको काम गर्नबाट च्यूत त भएको होइन भन्ने आशंका जन्माएका छन्।
अख्तियार लगायतका निकायले बाँस्कोटाको विषयमा छलफल गरेलगत्तै शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ नेकपाको सचिवालय बैठकले बाँस्कोटाको कमिसन प्रकरणका बारेमा अनुसन्धान गर्न सहयोग गर्ने जनाएको हो।
सचिवालय बैठकमा बाँस्कोटाको कमिसन प्रकरणका बारेमा छलफल भएको र यससम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगाएतका निकायले छलफल गरेको बारेमा चर्चा भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
https://youtu.be/H-hSSmkkyEo
उनले यसबिषयमा छानविनका लागी पार्टीले सहयोग गर्ने पनि बताए।
साथै बैठकमा अमेरिकी एकीकृत विकास परियोजना (एमसिसी)का बारेमा छलफल भएको जानकारी दिए।
आजको बैठकमा एमसीसीका बारेमा अध्ययन गर्न गठित कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनमा रहेका बिषयहरुबारे आफ्नो धारणा राखेका थिए।
थापाले आगामी बैठकमा प्रतिवेदनमाथि विस्तृत छलफल हुने र त्यसपछि पार्टीले आवश्यक निर्णय लिने जानकारी दिए।
एमसिसीबारेको विवाद निरूपणका लागि नेकपा केन्द्रीय कमिटी बैठकले खनाल, स्थायी कमिटी सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको कार्यदल बनाएको थियो। अध्ययन कार्यदलले २० दिनपछि शुक्रबार प्रतिवेदन बुझाएको थियो। एमसिसी संशोधनबिना पास गर्न नहुने सुझावसहित कार्यदललले प्रतिवेदन दिएको छ।
प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय