सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको प्रक्रियामा स्वीस एजेन्टसँग ७० करोड रुपैयाँ कमिशन मागेका निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूले नैतिकताको आधारमा पदबाट राजीनामा दिएको दाबी गरेका छन्।
स्वीस कम्पनीको नेपालस्थित एजेन्ट विजयप्रकाश मिश्रसँगको लामो वार्ताका क्रममा उक्त प्रेस खरिद सम्झौताका लागि ७० करोड कमिशन माग्दै सरकारी कर्मचारीलाई तथानाम अपशब्द प्रयोग गरेको अडियो सार्वजनिक भएलगत्तै उनले उपत्यका बाहिरबाट खाएको विषमात्रै लाग्ने नखाएको नलाग्ने भन्दै आफ्नो बचाउ गरेका थिए।
तर, बिहानैदेखि सामाजिक सञ्जाल र अनलाइन मिडियामा उनकोबारेमा चर्को आलोचनासँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध र कतिपय सत्तापक्षकै नेताहरुले समेत उनको राजीनामाको माग उठाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरबाट राजधानी आइपुगेका बाँस्कोटालाई बालुवाटारमा बोलाएर राजीनामा लिएका थिए।
मन्त्रिपरिषदको नियमित पत्रकार सम्मलेन अपरान्ह ४ः१५ बजेका लागि तय गरी सोहीमार्फत आफ्ना कुरा मिडियामा ल्याउने र आफ्नोबारेमा समाचार लेख्ने संचारमाध्यममाथि खनिने तयारीमा रहेका बाँस्कोटासँग प्रधानमन्त्रीले राजीनामा मागिदिएपछि उनको पत्रकार सम्मेलन समेत स्थगित भएको छ।
त्यसलगत्तै निवर्तमान मन्त्री बाँस्कोटाले आफ्नो ट्वीटरमार्फत भनेका छन्, ‘मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु। धन्यवाद।’
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय