सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा संलग्न व्यक्तिसँग कमिशन मागेको विषयप्रति नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ।
संचार मन्त्री बाँस्कोटालेएक स्वीस कम्पनीबाट सेक्युरिटी प्रिन्टीङ प्रेस खरिदका लागि भएको जी टु जी वार्तामा नेपाली एजेन्टसँग ७० प्रतिशत कमिसन मागेको अडियोप्रति नेपाली कांग्रेसका प्रवक्ता बिश्व प्रकाश शर्माले आपत्ति जनाएका छन्। बिहिबार बिहान कांग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीलाई तत्काल मन्त्री बाँस्कोटालाई बर्खास्त गरि अनुसन्धान गर्ने निकायलाई सहयोग गर्न आग्रह गरेका छन्।
उनले नेपाली कांग्रेसको बिगतदेखि रहेको भ्रष्टाचारको मुद्दामा कुनै पनि आग्रह र पूर्वाग्रह भन्दा माथि रहेर, प्रतिशोधको कुनै पनि मनोविज्ञान नराखी अनुसन्धान गर्र्नुपर्छ भन्ने मान्यता रहदै आएको बताएका छन्।
उनले यस बिषयमा प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा जवाफ मागेका छन्।
त्यस्तै शर्माले उक्त अडियोमा मन्त्री बाँस्कोटाले निजामती कर्मचारीहरुमाथि प्रयोग गरेको शब्दमाथि आपत्ति जनाएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पटक अडियो सुन्न आग्रह पनि गरेका छन्।
‘भ्रष्टचारीको मुख हेर्दिनँ भन्नु हुने प्रधानमन्त्रीज्यूले आफ्नै मन्त्रिमण्डलको एउटा मन्त्रीजीको अडियो यसरी सार्वजनिक भएको अवस्थामा म मुख त हेर्दिनँ भनेको थिएँ, सुन्दिनँ भनेको कहाँ थिएँ र भन्नुभयो भने अलग कुरा हो। होइन भने मुख हेर्ने/नहेर्ने अर्को प्रश्न। तर सुन्न त सक्नुहुन्छ होला नि, प्रधानमन्त्रीज्यूले?" उनले भने
केहि समय अगाडी प्रधानमन्त्रीले "सरकारको कसैले विरोध गर्न लाग्यो भने अमुक मन्त्री (गोकुल बाँस्कोटा) को मुख हेर्यो भने चुप लाग्छन्" भन्ने अभिव्यक्ति प्रति लक्षित गर्दै उनले भने," अमुक मन्त्रीजीले बोलेको शब्दावली र उहाँको घनिष्टता हेर्दा हामी भन्ने शब्दभित्र को-को पर्छन् भन्ने प्रश्न हामीले उठाउनु स्वभाविक हुन्छ।" उनले प्रधानमन्त्रीलाई त्यो हामीमा को-को पर्छन प्रधानमन्त्रीज्यु भनेर प्रश्न गरेका छन्।
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय