
मातातिर्थको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराउने गतिविधिमा संलग्न पूर्ववर्ती सरकारका पदाधिकारीमाथि छानविन गरी कारबाही गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति समाजवादी पार्टी नेपालका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले गम्भीर आपत्ति प्रकट गरेका छन्।
सरकारको दुई वर्षे कार्यकालको उपलब्धीबारे प्रतिनिधि सभामा जानकारी दिने क्रममा गत शनिबार प्रधानमन्त्री ओलीले २०६९ कार्तिकमा तत्कालिन मन्त्रिपरिषदले मातातिर्थको १७४ रोपनी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने गलत निर्णय गरेको बताउँदै उक्त जग्गा सरकारले फिर्ता गरिसकेको र दोषीमाथि छानविन गरी कारबाही गर्ने बताएका थिए।
सोही विषयमा विभिन्न निकायबाट कारबाहीको प्रक्रिया अघि बढाउन छानविन सुरु भएको समाचार प्रकाशित भएपछि तत्कालिन प्रधानमन्त्री भट्टराईले ट्वीटरमार्फत आपत्ति जनाएका हुन्।
https://twitter.com/brb1954/status/1229818574442815490
उनले आफ्नो ट्वीटरमा दुई वटा खण्डमा आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले सत्यतथ्य नै नबुझी राजनीतिक प्रतिशोधको मनासायले उक्त जग्गा सम्बन्धी मन्त्रिपरिषदको निर्णयलाई उछालेर संसद र जनतामा भ्रम छरेको आरोप लगाएका छन्।
साथै नेता भट्टराईले अरुविरुद्ध हिलो छ्यापेर आफ्नो आङको फोहर पखाल्न दुश्प्रयास प्रधानमन्त्री ओलीले गरेको आरोप लगाउँदै मन्त्रिपरिषदको विधिसम्मत नीतिगत निर्णय उल्ट्याउँदा संस्कृतका विद्वान कालिदासको जस्तै हाँगामा बसेर फेद काटेको हविगत स्मरण गर्न सुझाव दिएका छन्।
भट्टराईका अनुसार, २०२६ सालमा तत्कालिन राजा महन्द्रले विर्ताको रुपमा रहेको उक्त जग्गा रैकरमा परिणत गरेको र मातातिर्थका जोताह/मोहीको नाममा उक्त जग्गाको हक कायम गराउन २०६९ कार्तिकमा भट्टराई नेतृत्वको मन्त्रिपरिषदले नीतिगत निर्णय गरेको थियो।
आफ्नो नेतृत्वको मन्त्रिपरिषदले गरेको निर्णयको बचाउ गर्दै भट्टराईले जोताहा किसानको जमिन फेरि राजाको नाउँमा लगेर नेपाल ट्रष्टको माध्यमबाट यति होल्डिङ्ग्सलाई सुम्पिने दाउमा प्रधानमन्त्री ओली भए आफूलाई भन्नु केही नभएको समेत बताएका छन्।
पूर्व राजा वीरेन्द्र र उनको परिवारका नाममा देशभरी रहेको चल÷अचल सम्पत्ति सरकारले एक दशकअघि नै राष्ट्रियकरण गरी नेपाल ट्रष्टमा राख्ने र उक्त सम्पत्ति जनताको शिक्षा, स्वास्थ्यमा खर्च गर्ने निर्णय अनुसार ठूलो मात्रामा जग्गा जमिन ट्रष्ट मातहतमा ल्याइएको थियो।
तर, सत्ता र शक्तिमा रहेका उच्चपदस्थ पदाधिकारीहरुलाई प्रभावमा पारेर यति समूहले उक्त ट्रष्ट मातहत रहेको दरबारमार्गस्थित जग्गादेखि गोकर्ण फरेष्ट रिसोर्ट, शिवपुरीको जंगल लगायत देशको हजाराैँ रापनी जग्गा जमिन कौडीको भाउमा प्रधानमन्त्री ओलीका अत्यन्त प्रिय व्यापारी स्व. आङ छिरिङले सञ्चालन गरेको यति समूहले भोग चलन गर्न सफल भएको थियो।
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय