हिमाल दैनिक
उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माणको अभियानमा जुट्नु आजको आवश्यकता भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई पूरा गर्न एकताबद्ध प्रयासको खाँचो औँल्याए । प्रजातन्त्र दिवसले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ् गर्दै देशलाई विकास र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा दिने उनको विश्वास छ । जनताको सङ्घर्षबाट प्राप्त भएको गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत राजनीतिक उपलब्धिलाई संविधानले संस्थागत गरिसकेको उल्लेख गर्दै उनले राजनीतिक स्थिरता कायम भएसँगै देश विकास र समृद्धिको मार्गमा अग्रसर भएको बताएका छन् । सन्देशमा उनले प्रजातन्त्र प्राप्तिका लागि भएको आन्दोलनमा जीवनको आहुति दिने वीर वीरङ्गानालाई स्मरण गर्दै श्रद्धासुमन अर्पण गरेका छन् ।
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update