हिमाल दैनिक
थुनामुक्त भएलगत्तै महराले भनेः तथाकथित आरोपबाट सफाइ पाएँ, अब राष्ट्रिय स्वाधीनाताको रक्षा मेरो प्राथमिकता
Krishna Mahara
आफ्नै कार्यालयकी महिला कर्मचारीमाथि यौन दुव्यवहारको आरोपमा मुद्दा खेपेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराले अदालतबाट सफाइ पाएलगत्तै आफ्ना शुभचिन्तकहरुलाई धन्यवादा दिएका छन्। गत असोज १२ गते संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीको डेरामा गई यौन दुव्यवहार गरेको आरोपमा मुद्दा खेपिरहेका महराले सोमबार जिल्ला अदालत काठमाडौंका मुख्य न्यायाधीश अम्बरराज पौडेलकोे एकल इजलासबाट सफाई पाएलगत्तै डिल्लीबजार कारगारबाट थुनामुक्त भएका महराले साँझ एक विज्ञप्ति जारी गर्दै आफूमाथि लाइएको आरोप गलत सावित भएको दाबी गरेका छन्। आफूलाई अदालतले निर्दोष ठह गर्दै सफाइ दिएको बताउँदै महारले अदालतप्रति विशेष आभार एवं धन्यवाद दिएका छन्। यसैगरी प्रहरी हिरासतमा ३० दिन र डिल्लीबजार कारागारमा १०३ दिनगरी कूल १३३ दिन थुनामा बसेर निस्किएका महराले आफूले ‘तथाकथित’ आरोप खेपेको दाबी गरेका छन्। साथै उनले यस क्रममा सक्रियतापूर्वक पहल र सहयोग गर्ने आफ्नो परिवारका सम्पूर्ण सदस्यहरु, मित्रहरु, आफ्नो पक्षमा वकालत गर्ने कानून व्यवसायीहरु र राजनीतिक व्यक्तित्वहरुप्रति पनि आभार व्यक्त गरेका छन्। विगत बजेट अधिवेशनमा सरकारले अमेरिकासँग गरेकाे विकास अनुदान सहयोग सम्झौता (एमसीसी) प्रस्ताव सदनबाट अनुमोदन गराउने प्रक्रियामा असहयोग गरेको आरोप सरकारको नेतृत्वबाट खेप्न बाध्य भएका महराले घुमाउरो पारामा आफ्नो विज्ञप्तिमार्फत अडान व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ। नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहनेछ।’ सत्तारुढ नेकपाभित्र एमसीसीको विषयमा चर्को विवाद र बहस चलिरहेकै बेला अदालतबाट सफाइ पाएर बाहिर आएका महराले व्यक्त गरेको मुलुकको स्वाधीनता, र स्वतन्त्रताको प्रसंगले सत्तारुढ दलभित्र आगामी दिनमा थप विवाद चर्किने सम्भावना बढाएको छ।
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update