प्रधानमन्त्री केपी शर्मा ओलीले असल, सक्षम, दक्ष र सक्रिय व्यक्तित्व निर्माण गर्दै राष्ट्र सेवामा जुट्न सम्पूर्ण युवाहरूलाई आह्वान गरेका छन् ।
राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १५ औँ सिनियर डिभिजन समूहको शुक्रबार ललितपुरमा आयोजित दीक्षान्त समारोहमा उनले हरेक युवाले कुशल नेतृत्वका लागि क्षमता विकास, नैतिक आचरण र अनुशासनको परिपालनमा रही समाज र राष्ट्रप्रतिको कर्तव्यमा ध्यान केन्द्रित गर्न आवश्यक रहेको बताए।
अनुशासित र राष्ट्रप्रति समर्पित युवा उत्पादन राष्ट्रको आवश्यकता र प्राथमिकताका कार्यक्रम भएको भन्दै उनले युवाको चौतर्फी व्यक्तित्व विकासमा सरकार हरसम्भव सहयोग गर्न प्रतिबद्ध रहेको जिकिर गरे ।
https://www.facebook.com/himaldainik/videos/655005675309386/?t=2
उनले युवालाई अध्ययन, रोजगारी र व्यक्तित्व विकास गर्न सरकारले अनुकूल वातावरण बनाउने प्रयास अघि बढाइरहेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले राष्ट्रिय सेवा दलबाट तालिमप्राप्त युवाबाट घर परिवारले मात्र होइन, समाज र राष्ट्रले पनि सपना र आशा रहेको बताए ।
मुलुकमा नैतिकवान, क्षमतावान र देशभक्ति युवा तयार गर्ने उद्देश्यले स्थापना भएको सेवा दलबाट हालसम्म ५१ हजार ३३२ जना छात्रछात्राले यो तालिम पूरा गरिसकेको सो अवसरमा जानकारी दिइयो ।
यस आर्थिक वर्षमा मात्रै ७६ जिल्लाका २१३ विद्यालयका सात हजार ७०० विद्यार्थी सेवा दलको तालिममा सहभागी भएका थिए । पन्ध्रौँ समूहको तालिममा सहभागी ५०९ मध्ये २६१ छात्रा र २४८ छात्र रहेको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय