हिमाल दैनिक
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्वितीय अध्यक्ष एवं पूर्र्वमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बिहिबार व्यक्त गरेको विवादस्पद अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गम्भीर आपत्ति प्रकट गरेको छ। माओवादी हिंसात्मक द्वन्द्ध सुरु गरेको दिनको सम्झनामा बिहिबार एक कार्यक्रममा बोल्दै दाहालले तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले समेत आफूलाई राजतन्त्रविरुद्ध अझ फौजी आक्रमण बढाइदिन आग्रह गरेको अभिव्यक्ति दिएलगत्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै खण्डन गरेका छन्। चार बुँदे विज्ञप्तिमा कांग्रेस प्रवक्ता शर्माले माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपूर्ण अवतरण गराउन निर्णायक पहल गर्ने ‘शान्ति नायक’ गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भूमिकालाई अर्थहिन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक मात्र होइन आपत्तिजनक समेत भएको प्रतिक्रिया दिएका छन्। ‘फोजी आक्रमण अलि बढाइदिन पर्यो र सदरमुकाम हान्नु पर्यो भनेर गिरिजाप्रसाद कोइरालाले दहाललाई यदि साँच्चै भन्नु भएको हुँदो हो त त्यो संवादको कुरा कोइराला जिवित छँदै नै दाहालले पक्कै सार्वजनिक गनुहुन्थ्यो। तर, उहाँको निधन भएको यतिका वर्षपछि ऐतिहासिक तथ्यलाई तोडमोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैरजिम्मेवार अभिव्यक्ति आउनु दुःखद छ,’ विज्ञप्तिमा भनिएको छ। प्रवक्ता शर्माले माओवादी हिंसात्मक आक्रमणबाट मुलुकलाई मुक्त गर्न कोइरालाले सहमति, सहकार्य र एकताको राजनीति अघि सारेको कुरा नै ऐतिहासिक तथ्य भएको दाबी गरेका छन्। ‘हिंसाको राजनीतिलाई सुरक्षित अवतरण गराउन सफल ढंगले संयोजन र नेतृत्व गर्नुभएको नेताले नै हिंसात्मक आक्रमणको लागि प्रेरित गर्नुभयो भन्नु आफैँमा विरोधाभासपूर्ण छ,’ उनले भनेका छन्। साथै शर्माले जिम्मेवार ढंगले कार्य गर्न कोइरालाले कुनै बेला दाहाललाई दिएको सुझाव सार्वजनिक रुपमा स्मरण गराउँदै जिम्मेवार अभिव्यक्तिका लागि पनि सजग गराएका छन्। दाहालले आफ्नो राजनीतिक भाषणवाजीका क्रममा अधिकांश समय आफूलाई कोइरालाले मुलुकको राजनीतिक दायित्व सुम्पिएकोदेखि आफ्ना निम्ति सकारात्मक प्रभाव पर्ने कुरामा उनको नाम लिने गर्दै आएका छन्।
प्रकाशित मिति: सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update