सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने बताएका छन् ।
बिहीबार नेकपा केन्द्रीय कार्यालय धुम्रबाराहीमा ‘जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा आयोजित श्रद्धाञ्जलिसभा’मा प्रचण्डले जनयुद्ध र विद्रोह एक ऐतिहासिक तथा विशिष्ट परिस्थितिमा जनताको आवश्यकता र नेतृत्वको सही विचारका आधारमा हुने भएकाले अब जनयुद्धको नक्कल हुन नसक्ने बताएका हुन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई सङ्केत गर्दै उनले भने, “एकथरि साथीहरु फेरि विद्रोहतिर लाग्नुभएको छ, तर हामीले सबै परिस्थिति र विश्व अनुभवको समीक्षा गरेर शान्ति प्रक्रियामा आएर मौलिक तरिकाको जनवादी क्रान्तिमा सामेल भएका हौँ, जनयुद्धलाई निरन्तरता दिएको भए हामी पेरु वा श्रीलङ्काको विद्रोहजस्तै सकिने थियौँ, हामीले कम्युनिष्टहरुबीचको सहकार्यसहित बुर्जुवाको साथ लिएर गणतन्त्र स्थापना गरेका छौँ ।”
https://www.youtube.com/watch?v=O3G0qdTFLqk&feature=youtu.be
कम्युनिष्टहरु सत्तामा पुगेपछि विचलन हुने रोगबाट माथि उठेर जनताको मनोभावनालाई आत्मसात् गर्र्दै त्याग, समर्पण र बलिदानको भावनाका साथ शान्तिपूर्ण सङ्घर्ष, विकास र समृद्धिबाट वैज्ञानिक समाजवादको दिशामा अघि बढ्न नेता–कार्यकर्तालाई उनले आग्रह गरे ।
उनले शान्तिपूर्ण जनआन्दोलनमा रहेका नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले समेत राजतन्त्रविरुद्ध अझ फौजी आक्रमण बढाइदिन आफूलाई आग्रह गरेको स्मरण गरे । प्रचण्डले विसं २०२९ को झापा विद्रोह (सुखानीका शहीद) र जनयुद्धका शहीदसम्मलाई जोडेर नेतृत्वले सही विचार र सोचका साथ मुलुकलाई सही गन्तव्यमा पु¥याउने दृढता पनि व्यक्त गरे ।
कार्यक्रममा नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेपालको जनयुद्धको घटना विश्व इतिहासमा विरलै हुने ऐतिहासक घटना भएको जनाउँदै जनयुद्ध र जनआन्दोलनले सामन्तवादलाई परास्त गरेको र साम्रज्यवादलाई कमजोर बनाउने उल्लेख गरे । कार्यक्रममा शहीदहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको थियो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच गत २०७५ जेठ ३ गते एकता भएपछि हरेक फागुन १ लाई ‘जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा श्रद्धाञ्जलिसभा’ का रुपमा मनाउन थालिएको छ ।
प्रकाशित मिति: सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय