ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तयार पारेको अभियोग पत्र आफैँमा विरोधाभाषपूर्ण एवं दोहोरो मापदण्डयुक्त रहेको दाबी गर्दै नेपाली कांग्रेसले उक्त प्रकरणमा आफ्ना उपसभापति विजयकुमार गच्छदारप्रति सरकारको प्रभाव र दबाबमा मुद्दा दायर गरिएको निश्कर्ष निकालेको छ।
सोमबार पार्टी मुख्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आयोगले तयार पारेको अभियोग पत्रले नै आयोगले कांग्रेस उपसभापति गच्छदारमाथि नेपाल सरकारको प्रभाव र दबाबमा मुद्दा दायर गरेको आरोप लगाएको हो।
यसरी सरकारको दबाब र प्रभावमा आयोगले आफ्ना नेतामाथि मुद्दा चलाएको उल्लेख गर्दै कांग्रेसले भनेको छ, ‘यो कार्य राजनैतिक पूर्वाग्रह र वदनियतले प्रेरित रहेको ठहर गर्दै बैठक घोर भत्र्सना र खेद व्यक्त गर्दछ तथा यस्तो प्रतिशोधपूर्ण व्यवहारको राजनीतिक रुपले प्रतिवाद गर्ने निर्णय गर्दछ।’
गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासका ११२ रोपनी सरकारी जग्गा विभिन्न समयमा मन्त्रिपरिषदको निर्णयका आधारमा नक्कली मोही खडा गरी भूमाफियाको योजना मुताविक व्यक्तिका नाममा लालपूर्जा वितरण गर्ने कार्य गरेको आरोप लगाउँदै तत्कालिन उपप्रधान तथा भौतिक योजना मन्त्री रहेका गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
त्यसलगत्तै कांग्रेसले अख्तियारले मन्त्रिपरिषदका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराईसँगै तत्कालिन मुख्यसचिव र जग्गा खरिदकर्ता नेकपा महासचिव विष्णु पौडेल पुत्र नवीन र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीसहित केहीलाई उन्मुक्ति दिएर गच्छदारलाई कांग्रेस भएकै कारण फँसाइएको आरोपमा सदन र सडकमा विरोध कार्यक्रम चर्काएको थियो।
यसका बाबजूद पार्टीको केन्द्रीय कार्यसमिति बैठकले उक्त मुद्दामा तानिएका उपसभापति गच्छदारले कानूनी रुपमा सामना गर्दै निर्दोष सावित हुने पनि विश्वास लिएको छ।
ललिता निवास जग्गा प्रकरणकै विषयलाई लिएर सदन अवरोध गराउँदै आएको कांग्रेसले सदनको गतिरोध खुलाउने अथवा यसलाई निरन्तरता दिने भन्नेबारे मंगलबार बिहान बस्ने पार्टी संसदीय दलको बैठकबाट टुंगो लगाउने भएको छ।
यसैगरी आजको केन्द्रीय कार्यसमिति बैठकले चीनको वुहान शहरमा रहेका नेपाली विद्यार्थी तथा अलपत्र परेका नेपालीहरुलाई तत्काल उद्धार गरी स्वदेश ल्याउन सरकारसँग जोडदार माग पनि गरेको छ।
वुहानमा रहेका नेपाली विद्यार्थी र अन्य नागरिकको उद्धारमा भएको ढिलाइबाट बढ्न सक्ने संक्रमणको जोखिम र त्यसले भोलि नेपालमा पर्न सक्ने गम्भीर असरबारे कांग्रेसले सरकारलाई सजग रहन समेत आग्रह गरेको छ।
साथै देश फर्काएर राख्ने ‘क्वारेन्टाइन’लाई सम्पूर्ण रुपले व्यवस्थित र सुरक्षित ढंगले प्रबन्ध गर्न पनि बैठक सरकारलाई विशेष रुपले सजग गराएको छ।
यसैगरी आजै अपरान्ह राजधानीमा दिन दहाडै नेपाल सरकारका पूर्व सचिव अर्जुन कार्कीको श्रीमती मुना कार्कीको हत्या भएको घटनालाई बैठकले गम्भीरतापूर्वक लिँदै लिएको छ।
समाजमा बढ्दो हिंसा र असुरक्षाको प्रतिनिधि घटनाका रुपमा यसलाई लिंदै बैठकले शान्ति सुरक्षाको प्रश्नमा गम्भीर हुन सरकार समक्ष अपिल गर्दै घटनाको गहिरो अनुसन्धान र दोषी माथि कार्वाहीको माग समेत कांग्रेसले गरेको छ।
यसका अतिरिक्त अछाम पञ्चदेवल विनायक नगरपालिका वडा नं. २ का नेपाली कांग्रेसको तर्फबाट निर्वाचित वडा अध्यक्ष पदमबहादुर धामीको गत माघ २० गते भएको हत्यालाई बैठकले गम्भीरतापूर्वक लिँदै उक्त घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई आवश्यक कारवाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गरेको छ।
प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय