बालुवाटार जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गम्भीर प्रश्न उठाउँदै यसलाई लोकतन्त्र र देशकै लागि दुर्भाग्यपूर्ण घटनाको संज्ञा दिएका छन्।
बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिका नाममा नामसारी गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन मन्त्रिपरिषदका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँगै अर्का पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई नीतिगत निर्णयको आवरणमा तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल पुत्र नवीन र न्यायाधीश कुमार रेग्मीलाई जग्गाको हकदावी छोडेको भन्दै उन्मुक्ति दिएर तत्कालिन मन्त्री विजयकुमार गच्छदारसहित अन्यमाथि विशेष अदालतमा मुद्दा दायर गरेपछि कोइरालले यसबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
उनले भनेका छन्, ‘बालुवाटार जग्गा प्रकरणमा सरकार र अख्तियारको मिलोमतो देखियो। केहीलाई मन्त्रिपरिषदको नीतिगत निर्णय भन्दै उन्मुक्ति दिइयो र केहीलाई जग्गा फिर्ता गर्ने सर्तमा मुद्दा चलाइएन। यसले अख्तियारको विश्वसनियता र संवैधानिक स्वायत्ततामाथि प्रश्न उठेको छ। लोकतन्त्र र देशका लागि यो दुर्भाग्य हो।’
अख्तियारको यहि दोहोरो मापदण्डको विरोध गर्र्दै कांग्रेसले विगत दुई दिनदेखि संघीय संसद अन्तर्गृत प्रतिनिधि सभाको बैठक अवरुद्ध पार्दै आएको छ भने उसका भातृ संस्थाका कार्यकर्ताहरु सडकमा उत्रिएका छन्।
प्रकाशित मिति: बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय