प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी ओली नेतृत्वको सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)लाई नै दुरुपयोग गरेर बालुवाटार जग्गा प्रकरणमा विशेष अदालतमा मुद्दा दायर भएको आरोप लगाएको छ।
बुधबार बालुवाटारको ललिता निवासको जग्गा हिनामिना गरेको आरोपमा अख्तियारले तत्कालिन उपप्रधानमन्त्री तथा कांग्रेस उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेलगत्तै कांग्रेसले बिहीबार पार्टी कार्यालयमा सानेपामा पत्रकार सम्मेलन गर्दै नेकपाको सरकारले संवैधानिक निकायलाई राजनीतिक प्रतिशोध साँध्ने साधन बनाएको आरोप लगाएको हो।
बालुवाटारको जग्गा सम्बन्धी विषयमा गहिरो र गम्भीर अनुसन्धान र छानविन गरी दोषीमाथि कानून बमोजिम कारबाही हुनुपर्छ भन्ने कांग्रेसको अडान रहेको बताउँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले अनुसन्धानकै क्रममा प्रधानमन्त्री र सरकारका मन्त्रीले नेकपाका अमुक नेता झुक्किएको धारणा सार्वजनिक गरेर अनुसन्धान प्रक्रियालाई प्रभावित पारेको दाबी गरे।
तत्कालिन प्रधानमन्त्री तथा नेकपा नेता माधवकुमार नेपाल, समाजवादी पार्टी नेपालका नेता बाबुराम भट्टराई तथा नेकपा महासचिव विष्णु पौडेलका पुत्र नवीनलाई उन्मुक्ति दिएर थारु समुदायको नेता जसले नेपालको लोकतान्त्रिक आन्दोलनमा आफूलाई होम्दै जेलनेल सहेर निरन्तर जनताबाट निर्वाचित भएका उपसभापति विजयकुमार गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्ने कार्य पूर्वाग्रही र प्रतिशोधपूर्ण कार्य भएको आरोप उनले लगाए।
संसदीय प्रणालीमा मन्त्रिपरिषदको अध्यक्षका रुपमा रहने प्रधानमन्त्री जसको अनुमति र चाहनावीना कुनै पनि प्रस्ताव मन्त्रिपरिषद बैठकमा पेश हुन र पारित हुन सक्दैन त्यो प्रधानमन्त्रीसहित मन्त्रिपरिषदका अन्य सदस्यलाई उन्मुक्ति दिएर एउटा विभागीय मन्त्रीलाई मात्रै दोषको भागीदार बनाइनु गलत भएको कांग्रेसको दाबी छ।
साथै उनले तत्कालिन मन्त्रिमण्डलका तीन दर्जन भन्दा बढी मन्त्रीमध्ये कोही पनि नपर्ने बरु तत्कालिन रक्षामन्त्री देशको सर्वोच्च संस्थामा रहने तर, गच्छदारमात्रै दोषी हुन भन्नु राजनीतिक प्रतिशोधको प्रमाण भएको बताए।
अख्तियारले तत्कालिन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको विषयमा नीतिगत निर्णयले अनुसन्धान र कारबाही गर्न कठिनाई भएको भए त्यो कानूनी अड्चन हटाउन ऐन संशोधनमा विपक्षी दलको सहयोग र समर्थन रहन सक्ने सम्भावना भएपनि नेकपाले त्यो नगरी आफ्नालाई काखा र अरुलाई पाखा पारेर फँसाउने कार्य गरेको आरोप कांग्रेसले लगाएको छ।
यसका बाबजूद पनि पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले पूर्वाग्रही ढंगले मुद्दा दायर भएपनि गच्छदारले कानुनी र राजनीतिक रुपमा त्यसको डटेर सामना गर्ने जानकारी दिए।
नेकपा महासचिव पौडेल पुत्रले जग्गाको हक दावी छोड्ने भनेपछि मुद्दा नचलाएर उन्मुक्ति दिएको प्रसंगमा महोत्तरीकी तीलकुमारी खड्का नामकी ज्याला मजदूरी गर्ने महिलाले चाँगुनारायणको जग्गा खरिद गरेवापत दुई वर्ष जेल सजाय भोग्नु परेको तर, पौडेल पुत्रले उन्मुक्ति पाएको भन्दै यसले सरकार मुलुकमा कस्तो विधि, र कानूनको शासन चलाउन चाहन्छ भनि प्रश्न गरे।
साथै उलने बिधि र प्रक्रिया मिचेर मुद्दा दायर भएपनि कांग्रेस विधि र प्रक्रियामा विश्वास राख्ने पार्टी भएकाले सोही अनुसार अघि बढ्ने स्पष्ट पारे।
प्रवक्ता शर्माले यसलाई कांग्रेसका नेता र कार्यकर्तामाथि झुट्टा मुद्दा लगाउने र हतोत्साही बनाउने श्रृंखलाका रुपमा उक्त घटनालाई पार्टीले लिएको बताए।
कांग्रेसले बालुवाटार जग्गा प्रकरणमा कसैको पनि उन्मुक्ति नखोजेको प्रष्ट पार्दै तर, पूर्वाग्रहपूर्ण ढंगले कसैमाथि कारबाही हुन नहुने बताएको छ।
शर्माले उक्त जग्गाको नामसारी प्रकरणमा गच्छदार न प्रथम न अन्तिम जिम्मेवार व्यक्ति भएको बताउँदै वरिष्ठ नेता रामचन्द्र पौडेलको शब्दमा भने, ‘लालझण्डा लिने वित्तिकै उन्मुक्ति?
यसैबीच कांग्रेसले अख्तियारको पछिल्लो कदममा सरकारको गलत नियतबाट प्रेरित प्रतिशोधपूर्ण कार्य भएको बताउँदै भातृ संस्थाहरुको मार्फत सडकमा विरोध कार्यक्रम गर्ने तयारी गरेको छ।
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय