हिमाल दैनिक
गच्छदारसहित पूर्व तीन मन्त्री र अख्तियारका पूर्व प्रमुख बस्न्यातसँग ९ करोड ६५ लाख विगो दाबी
Akhtiyar (2)
ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार विगो दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। ललिता निवास जग्गाको विषयमा अख्तियारले बुधबार अदालतमा गच्छदारका अतिरिक्त तत्कालिन भूमिसुधार मन्त्रीद्वय डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी, पूर्वसचिव तथा अख्तियारका पूर्व प्रमुख आयुक्त दिप बस्न्यात, पूर्व सचिव तथा मन्त्री छविराज पन्तसहित १७५ जनाविरुद्ध अलग अलग विगो दाबीसहितको मुद्दा दायर गरेको हो। प्रधानमन्त्रीको सरकारी निवाससँगै जोडिएको ललिता निवास र त्यस क्षेत्रको १ सय १२ रोपनी सरकारी जग्गा विभिन्न समयमा व्यक्तिका नाममा दर्ता गरी सरकारी सम्पत्तिको हिनामिना गरेको आरोप अख्तियारले लगाएको छ। यसरी बुधबार अपरान्ह विशेष अदालतमा अख्तियारले दायर गरेको मुद्दामा ललिता निवास क्याम्पभित्र पर्ने सरकारी जग्गा आफ्नो नाममा काय रहेका ६५ जनाको जग्गा जफत गर्ने भनिएपनि सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलका पुत्र नवीन पौडेल उपर भने अलग्गै नीति अपनाइएको छ। [pdf-embedder url="https://himaldainik.com/wp-content/uploads/2020/02/hbuIS0.pdf"] आयोगले दायर गरेको मुद्दामा भनिएको छ, ‘...हालका जग्गाधनीहरु मध्येका कुमार रेग्मी र नवीन पौडेल उपर समेत जग्गा जफतको मागदावी गर्नुपर्नेमा निजहरुले आयोगका अनुसन्धान अधिकृत समक्ष गरेको वयान तथा आयोग समक्ष पेश गरेको निवेदनमा काठमाडौं बालुवाटारस्थित ललिता निवास क्याम्पभित्र आफ्नो नाममा कायम रहेका जग्गा नेपाल सरकारलाई छाडिदिन मन्जुर गरेकोले जग्गा जफतको मागदावी लिनको लागि प्रतिवादी बनाउन आवश्यक नदेखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम हाल निज कुमार रेग्मी र नवीन पौडेलको हकमा जग्गा जफतको मागदावी नलिने।’ जग्गा हिनामिनाको आरोपमा दायर गरिएको आरोप पत्रको दोस्रो तालिकामा जग्गा हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा सरकारी कर्मचारी र पदाधिकारीको सूचिमा ६० जनाको नाम रहेको छ। जसमा ४१औं क्रमसंख्यामा रहेका गच्छदारसहित पूर्व प्रमुख बस्न्यात, श्रेष्ठ, पूर्वसचिव पन्त, दिनेशहरि अधिकारी समान विगो बराबरको भ्रष्टाचारको आरोप लगाइएको छ। मालपोत अधिकृतहरु हरिकृष्ण तिमिल्सिना, परशुराम पोखरेल, शाखा अधिकृत कृष्णप्रसाद पौडेल, नायव सुब्बा प्रकाश नारायण भट्ट, टंकनाथ पौडेलविरुद्धछ ३२ करोड १९ लाख २० हजार विगोसहितको आरोप पत्र दायर भएको छ। जग्गा दनि र मोही भनिएका व्यक्तिको सूचिमा पहिलो नम्बरमा रुक्मशम्शेर जबरा, हाटकशम्शेर जबरा लगायत ६ जना राणा परिवारका सदस्य रहेका छन्। यसका अतिरिक्त भाटभटेनी सुपमार्केटका संचालक मीनबहादुर गुरुङ, जग्गा दलाली गर्ने लक्ष्मी ढकाल, शोभाकान्त ढकालसहित ५० जनाको नाम रहेको छ। यसका अतिरिक्त निवास क्याम्पभित्रको जग्गा हाल आफ्नो नाममा राखेका व्यक्तिहरुको जग्गा जफत गर्ने सूचिमा ६५ जनाको नाम भएपनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल र उनका छोराको नाम भने अटाएको छैन।  
प्रकाशित मिति: आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update