नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ कार्यसमितिमा नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षको कोटामा परेका महामन्त्रीहरुको नाम आइतबार पार्टी मुख्यसचिवले पाएका छन्।
सभापति शेरबहादुर देउवाले सभापति र दुई महामन्त्रीको नाम सार्वजनिक गरेलगत्तै दबाबमा परेका पौडेल र सिटौलाले आइतबारमात्रै नाम दिन सकेका हुन्।
पार्टी स्रोतका अनुसार, नेता पौडेल समूहमा परेको तीन महामन्त्रीमा पौडेलको कोटामा दिपक भट्टराई, महामन्त्री शशांक कोइरालाको तर्फबाट उर्मिला थपलिया र प्रकाशमान सिंहको तर्फबाट प्रभात दाहालको नाम पठाइएको छ।
उता सिटौला समूहबाट सिटौलाको सिफारिसमा बलदेव तिमिल्सिना र गगनकुमार थापाको तर्फबाट युवराज पाण्डे रहेका छन्।
यसैगरी सभापति देउवाले नेविसंघको उपसभापतिमा तुलसा पन्त (झापा) र मुक्तिराज पौडेल (रुपन्देही)लाई उपाध्यक्षमा मनोनित गरेका छन्। उनीहरू सिटाैलाकाे सिफारिसमा परेका हुन्।
शीर्ष नेताहरुबीच माघ १० गते भएको सहमतिका आधारमा १२७ सदस्यीय कार्यसमितिमा भागवण्डाका आधारमा पदाधिकारी र सदस्य संख्या बाँडफाँट भएपनि आन्तरिक सहमति हुन नसक्दा नाम टुंगो लागेको थिएन।
यसका बाबजूद पनि देउवाले तीन दिनअघि राजिव ढुंगानालाई अध्यक्ष र मनोज बैद्य र महेश्वरी कुँबरलाई महामन्त्री नियुक्त गरेपछि विद्यार्थीमाझ नयाँ तरंग उत्पन्न भएको थियो। देउवाको कोटामा परेको एक महामन्त्री र उपसभापति विजयकुमार गच्छदारको कोटाबाट एक गरी अझै दुई महामन्त्रीको नाम आउन बाँकी छ।
प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय