हिमाल दैनिक
संवैधानिक राष्ट्रपतिमा विस्तारै बढ्दैछ कार्यकारी मोह!
rastrapati bhandari-01-01
संविधानले संवैधानिक र आलंकारिक राष्ट्राध्यक्ष पदमा सिमित गरेपनि राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समय राजनीतिक भेटघाट र गतिविधि तिब्र बनाएर कार्यकारी मोह देखाउन थालेको संकेत दिएकीछिन्। तत्कालिन नेकपा एमाल र नेकपा माओवादी पार्टीबीचको चुनावी तालमेलदेखि पार्टी एकीकरणको प्रक्रियामात्र नभएर एकतापछिको नेकपाभित्र उत्पन्न विवाद समाधानमा समेत सक्रिय भूमिका निर्वाह गरेर विवादमा परेकी राष्ट्रपति भण्डारीले सत्तारुढ दलकै दोस्रो तहका नेताहरुसँग समेत केही हप्ताअघि परामर्श गरेपछि थप विवादित बन्न पुगेकी थिइन्। नेकपाका दोस्रो र तेस्रो तहमा रहेका नेताहरु प्रदिप ज्ञावाली, सुरेन्द्र पाण्डे, देवबहादुर गुरुङ, शक्ति बस्नेत, शंकर पोखरेल, वर्षमान पुन र विष्णु रिमाललाई पुसको ६ गते शीतल निवासमै बोलाएर छलफल गरेपछि उनको सक्रियाताप्रति धेरैले निधार खुम्च्याएका थिए। उक्त भेटवार्ताको विषयमा विभिन्न तहबाट भइरहेको आलोचना मत्थर हुन नपाउँदै गत साता राष्ट्रपति भण्डारीले प्रमुख प्रतिपक्षी दलका केही नेताहरलाई आफ्नै निवासमा बोलाएर भेटवार्ता गरेकी छिन्। राष्ट्रपति भण्डारीले कांग्रेसका सात जना नेताहरुलाई बोलाएको विषयमा स्वयं कांग्रेसभित्रै गम्भीर शंका र बहसको विषय बन्न पुगेको छ। बुधबार बिहान साढे ९ बजेतिर राष्ट्रपति भण्डारीले कांग्रेसका नेताहरु पूर्व अर्थमन्त्रीद्वय रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, कृष्णप्रसाद सिटौला, शेखर कोइराला, नारायण खड्का, प्रदिप गिरि र सुजाता कोइरालालाई भेट्न बोलाएकी थिइन्। तर, राष्ट्रपतिले बोलाएको भेटवार्तामा सिटौला, महत र गिरि अनुपस्थित भएपनि राष्ट्रपतिसँग नाताले दाजु पर्ने ज्ञानेन्द्रबहादुर कार्की, नेता खड्का, शेखर र सुजाता कोइराला भने करिब डेढघण्टा वार्ता गरी फर्किएको एक नेताले बताए। उक्त भेटवार्ताका क्रममा राष्ट्रपति भण्डारीले संविधानको कार्यान्वयनको विषयमा प्रस्तावनामा उल्लेख रहेको ‘समाजवाद उन्मुख’ अर्थतन्त्रको विषयमा कांग्रेसको धारणा के कस्तो छ र त्यो कसरी हाँसील गर्न सकिन्छ भन्ने जिज्ञासा राखेको स्रोतले बतायो। यसरी संवैधानिक राष्ट्रपतिले कार्यकारी प्रधानमन्त्री र अर्थमन्त्रीले गर्नु पर्ने राजनीतिक र आर्थिक विषयमा परामर्श थालेर भण्डारीले कार्यकारी मोह देखाएको र कार्यकारी प्रधानमन्त्री र मन्त्रीको क्षेत्राधिकारमाथि हस्तक्षेप गर्ने संकेत दिएको कांग्रेसका एक नेताले बताए। ‘राष्ट्रपतिजीमा पनि कतै तत्कालिन राजा वा रुसी राष्ट्रपतिको जस्तै सत्ता र शक्तिको भोक जागेर यस्ता गतिविधि गर्न थालेको त होइन भन्ने आशंका जन्मिएको छ,’ नाम उल्लेख नगर्ने सर्तमा कांग्रेस नेताले थप्दै भने, ‘यसबारे सत्तारुढ दलसँगै कांग्रेस नेतृत्वले पनि समयमै विचार पुर्याउनु आवश्यक छ।’
प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update