राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक तथा सांसद महेन्द्र राय यादवले आफ्नो पार्टी केन्द्रीय सरकारमा जानेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन् ।
उनले भने,‘सरकारमा सहभागी हुनेबारे हाम्रो पार्टीमा कुनै छलफल भएको छैन् । त्यसैले सरकारमा जाने सम्भावना छैन् । सरकारमा जानेबारे हामीसँग नैतिक धरातल छैन् । असोज ३ गतेलाई हामी कालो दिवसको रुपमा मनाउँछौं । अर्को कुरा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि सरकारमा जाने विषयमा कुनै छलफल भएको छैन् ।’
संयोजक यादवले सरकारमा सहभागी हुने कुरा आफूहरुको प्राथमिकता नभएको जिकिर गरे । उनले भने,‘राष्ट्रिय जनता पार्टी नेपाल सरकारमा जानको लागि ईच्छुक छैन् । तर, हाम्रा माग र मुद्दा सम्बोधन गरियो र एउटा वातावरण सहज बन्यो भने र हाम्रा सबै काम सम्पन्न भए भने हामी त्यतिवेला विचार गर्न सक्छौं । हाम्रा विगतका मुद्दा र मागलाई यो सरकारले सम्बोधन गरोस् । तर, अहिले सरकारमा जाने स्थिति छैन् ।’
त्यस्तै उनले आफ्नो पार्टीले प्रतिनिधिसभाको लागि उपसभामुख नमागेको स्पष्ट पारे । उनले भने,‘हामीले उपसभामुख हाम्रो पार्टीलाई देउ भनेर मागेका छैनौं । यो सरकारले हामीलाई उपसभामुख किन दिन चाहेको छ ? हामीले बुझ्न सकेका छैनौं ।’ सदन र सडक आफूहरुको नीति भएको सुनाउँदै उनले भने,‘मधेशमा भएका सहिदहरुका सपना साकार पार्नको लागि र माग पूरा गराउनको लागि हामीले कुनै पद, सरकार र उपसभामुख हाम्रो माग होईन् । हामी सहिदको रगतमा कुनै सौदाबाजी गर्ने पक्षमा छैनौं ।’
यादवले राजपा नेपाल र समाजवादी पार्टीबीच एकताको प्रक्रिया अघि बढिरहेकोले एकता हुने विश्वास दिलाए । उनले भने,‘एकताको लागि हामीले वार्ता कमिटी बनायौं, त्यो कमिटीले काम गरिरहेको छ । अहिलेपनि अनौपचारिक वार्ताहरु भैरहेका छन् ।’
उनले एकताको लागि धेरै कुरा मिलिसकेको जिकिर गरे । उनले भने,‘विचार, सिद्धान्त र मूल्यको आधारमा पार्टीको नाम, चुनाव चिन्ह र झण्डामा सहमति भैसकेको छ । तर, नेतृत्व व्यवस्थापनमा अहिले छलफल चलिरहेको छ ।’
उनले दुवै पार्टीको बराबर संख्या भएकोले सम्मानजनक नेतृत्व मिलाउने तयारी भएको पनि स्पष्ट पारे । उनले दुई पार्टीबीचको एकता राष्ट्रिय आवश्यकत्ता भएको औंल्याए । उनले भने,‘हामी दुई पार्टीबीचको एकता राष्ट्रको एकता हुनेछ । र नेपाली जनताको एकता हुनेछ ।
हिजो मधेशका पार्टीहरुले उठाएका मुद्दाहरु सबै राष्ट्रिय भए, मधेश आन्दोलनका उपलब्धिलाई रक्षा गर्दै र विभिन्न चरणमा हिजोका सरकारसँग गरेका सम्झौता कार्यान्वयन गराउनको लागि पनि देशलाई तेस्रा वैकल्पिक शक्तिको आवश्यकत्ता छ ।’
उनले आफूहरुले चाँडोभन्दा चाँडो एकता प्रक्रिया टुँगोमा पुगोस भन्ने चाहेको पनि सुनाए । तर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले आफूहरुको एकता नचाहेको उनको आरोप लगाए । उनले भने,‘यी दुवै पार्टीले थ्रेस होल्ड लगाएपछि मधेशवादी पार्टी समाप्त हुन्छ भनेर सोचेका थिए, तर पहिचानको मुद्दा बचाउनको लागि हाम्रो बीचमा एकता आवश्यक छ ।’
प्रकाशित मिति: सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय