हिमाल दैनिक
नेविसंघको अध्यक्षमा राजिव ढुंगाना मनोनित, पौडेल र सिटौलाले अझै दिन सकेनन् पदाधिकारीको नाम
rajib dhungana
विगत एकवर्षदेखि नेतृत्वबिहिन अवस्थामा रहेको नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्याथी संघको केन्द्रीय अध्यक्षमा राजिब ढुंगाना मनोनित भएका छन्। पार्टीभित्रको आन्तरिक विवाद र गटगत झगडाका कारण गठन हुन नसकेको तदर्थ समितिमा सुनसरी निवासी ढुंगानालाई पार्टी सभापति शेरबहादुर देउवाले मनोनित गरेका हुन्। निर्धारित समयमा नेविसंघको अधिवेशन गर्न नसकेपछि तत्कालिन अध्यक्ष नैनसिंह महरको समिति विघटन पश्चात गत ०७५ फागुन १ गतेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले दिएको अधिकार बमोजिम सभापति देउवाले ढुंगानालाई तदर्थ समितिको अध्यक्षमा मनोनित गरेका हुन्। त्यसैगरी सभापति देउवाले पार्टी नेताद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासँग माघ १० गते भएको सहमति बमोजिम आफ्नो तर्फबाट महामन्त्रीमा काठमाडौंका मनोज बैद्य र पाल्पाकी महेश्वरी कुँबरलाई मनोनित गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। तर, माघ १० गते भएको सहमति र भागवण्डाका आधारमा कुल १२७ सदस्यीय तदर्थ समितिमा तीन महामन्त्री, दुई उपाध्यक्ष र दुई सहमहामन्त्रीसहित ४१ सदस्यको हिस्सा पाएका पौडेल तथा २ महामन्त्री, उपाध्यक्ष र सहमहामन्त्री सहित २८ प्रतिशत स्थान पाएका सिटौलाले आफ्नो गुटबाट भने अझै नाम दिन नसकेपछि सभापति देउवाले आज तीन जनाको नाम मनोनित गरेका हुन्। सभापति देउवाले पनि आफ्नो समूहका अतिरिक्त उपसभापति विजयकुमार गच्छदारसहितको तर्फबाट अझै दुई उपाध्यक्ष, दुई महामन्त्री, कोषाध्यक्षसहित आफ्नो हिस्सामा परेका सदस्यहरुको नाम अझै सार्वजनिक गर्न सकेका छैनन्। पौडेल पक्षभित्र पनि उनीबाहेक महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह लगायतका नेताहरुको आफ्नै उपगुटगत उम्मेदवारका आकांक्षीको सूचि लामो भएपछि उक्त समूहले पदाधिकारीको समेत नाम दिन नसकेको हो। उता सिटौला समूहबाट नेविसंघको पूर्वमहामन्त्री समेत रहेका कुन्दन काफ्ले समूहले असन्तुष्टि जनाएर आमरण अनसनमा गएपछि सिटौलालाई पनि थप दबाब परेको छ। उनले पनि अहिलेसम्म गगन थापा र प्रदिप पौडेलबाट नाम लिएर मनोनयनका लागि सिफारिस गर्न सकिरहेका छैनन्। विसं २०४६ मा नेविसंघको जिल्ला सदस्यबाट नेविसंघको राजनीति शुरु गरेका ढुङ्गानाले यसअघि नेविसंघको केन्द्रीय सदस्य, कोषाध्यक्ष र उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन्। कार्यसमितिलाई आजको मितिदेखि छ महिनाभित्र नेविसंधको आगामी १२ औँ केन्द्रीय अधिवेशन सम्पन्न गर्नुपर्ने जिम्मेवारी तोकिएको छ । तदर्थ कार्यसमितिमा रहेका पदाधिकारी र सदस्य आगामी केन्द्रीय अधिवेशनमा उम्मेदवार हुन पाउने छैनन् भने यस अघि कायम रहेको नेविसंघ केन्द्रीय कार्य समिति विघटन भएको मिति २०७५ साल माघ २९ गतेसम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीहरुले नेविसंघको आगामी १२ औँ अधिवेशनमा भाग लिन पाउने छन् । नेविसंघ तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशीघ्र गरिने पार्टी कार्यालयले जनाएको छ।
प्रकाशित मिति: सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update