मंसिर २६ गतेदेखि नेपाली कांग्रेसभित्र उत्पन्न चरम आन्तरिक विवाद समाधानको अचुक उपायका रुपमा नेताहरुबीच माघ १० गते भातृ संस्थामा भागवण्डा मिलाएपछि सोमबार अपरान्ह १ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको थियो।
विशेषगरी नेपाल विद्यार्थी संघको तदर्थ कार्यसमित गठनमा भागवण्डा मिलेसँगै कांग्रेसका सबै नेता तथा केन्द्रीय सदस्यहरु आजको बैठकमा उपस्थित भएर विवादका अन्य विषयहरु सहमितकै आधारमा बैठकबाटै पारित गराउने जानकारी नेतृत्वले दिएको थियो।
तर, नेविसंघ भित्रैको एउटा समूह भने विधानमा उल्लेख गरिएको ३२ वर्ष उमेरहद १२औं अधिवेशनबाट नभई तदर्थ समिति गठनबाटै लागू हुनु पर्ने माग गर्दै नेताहरुले गरेको सहमतिको विरोधमा पार्टी मुख्यालय सानेपामा भेला भएका थिए। विगत केही सातादेखि सुरु गरेको रिले अनसनलाई आजदेखि आमरण अनसनमा बदल्ने घोषणा गर्दै थिए।
उक्त समूहको नेताका रुपमा थिए तेस्रो धारका नेता कृष्णप्रसाद सिटौला समूहका विद्याथी नेता कुन्दनराज काफ्ले र नवराज त्रिपाठी लगायतका विद्यार्थीहरु।
पार्टी नेतृत्वले भातृ संस्था र तिनका कार्यकर्तालाई दासको व्यवहार गरेको आरोप लगाउँदै उनीहरुले आफ्नो अडान कायम रहेको र विरोध स्वरुप थालिएको रिले अनसन आजैदेखि आमरण अनसनमा बदलिएको घोषणा गर्दै थिए। जसलाई पार्टीका पूर्वमुख्य सचिव शोभाकर पराजुलीले अनसनकारीलाई माला लगाएर आफ्नो पूर्ण समर्थन रहेको बताए।
त्यहिबीचमा सदाझैं केन्द्रीय कार्यसमितिको बैठक तोकिएकै समयमा पुग्ने र करिब दुई तीन घण्टा कुर्दा पनि बैठक सुरु नभएपछि उपस्थिति पुस्तिकामा हस्ताक्षर गरी बाहिरिने नेतामध्ये एक नरहरि आचार्य पुगे।
पूर्व सभापति सुशील कोइरालाको निधनको खबरले मर्माहत भएर ढल्दा आधा अंग नै नचल्ने स्थितिमा पुगेका नेता नरहरिको सहजताका लागि उनका गाडी चालकले उनलाई सदाझै मुख्य प्रवेशद्वार नजिकै लग्दै गर्दा अनसनको पक्षमा रहेका विद्यार्थी कार्यकर्ताहरुको भिडले नारावाजी र होहल्ला गर्यो। त्यसका बाबजूद पनि आचार्यका सहयोगीले गाडीलाई प्रवेशद्वार नजिकै पुर्याए र उनलाई भिडबाट भित्र जानेक्रममा केही विद्यार्थीहरुले सहयोग गरे।
त्यसपछि उनको गाडी पछाडि ल्याउन पनि नमिल्ने अगाडि जान पनि विद्यार्थीको भिडले बाटो नखोलिदिने स्थितिमा केही विद्यार्थी र कार्यकर्ताले साथ दिएपछि उनको गाडी त्यहाँबाट पार्किङतर्फ गयो।
अपरान्ह साढे १ बजेतिर सभापति शेरबहादुर देउवा पनि पार्टी कार्यालय पुगे। सदाझैं कार्यालयको मुख्यद्वारमा रहेका तीन ढोकामध्ये दक्षिणतर्फको ढोका अगाडि विरोध गर्दै अनसन बसेका विद्यार्थीकोे समूह थियो। जहाँ विद्यार्थी नेता काफ्ले भाषण गर्दै थिए।
बिचको मुख्य प्रवेशद्वार पनि कार्यकर्ताको भिडले ढाकिएको कारण कार्यालयका कर्मचारी र सुरक्षाकर्मीले देउवालाई उत्तरतर्फकोे तेस्रो ढोकाबाट भित्र जाने प्रबन्ध मिलाएका थिए।
विगतका कतिपय बैठकमा कार्यालय प्रवेश गर्दैगर्दा नारावाजी र होहल्ला गर्ने विद्यार्थीप्रति आक्रोस पोखेको कारण सामाजिक सञ्जालमा आलोचना खेप्न बाध्य बनेका सभापति देउवा आज भने अलि फरक मुद्रामा गाडीबाट मुस्कुराउँदै ओर्लिए। नारावाजी गरिरहेका विद्यार्थीलाई हँसिलो मुद्रामा हात हल्लाएर भित्र प्रवेश गर्न सिँढी उक्लँदै थिए। देउवा प्रवेशद्वारमा पुग्नु पहिलेको अन्तिम सिँढीमा पुग्नलाग्दा भाषण गर्दैगरेका काफ्ले भिडलाई छिचोलेर सभापतिको बाटो छेक्न आइपुगे भने नारावाजी गरिरहेका विद्याथीहरुले आफ्नोे नारामा एकाएक बदल्दै ‘शेरबहादुर देउवा मुर्दावाद’को नारा तीन पटकसम्म लगाए।
काफ्लेसहित ढोका नजिक आइपुगेको आक्रोसित भिडलाई देउवाका नीजि सुरक्षाकर्मी र त्यहाँ उपस्थित प्रहरीले धेकेलेर देउवालाई कार्यालयभित्र प्रवेश गराए। तर, उत्तेजित बनेका काफ्लेसहित उनका समर्थकहरु बिचको ढोकाबाट कार्यालयभित्रै नारावाजी गर्दै ठेल्न पुगे।
त्यहिबीचमा सुरक्षाकर्मीले भिडलाई ठेलेर ढोका बाहिर ल्याउँदा स्थिति अराजक बनिसकेको थियो। सभापति देउवा निकट विद्यार्थी नेता र कार्यकर्ताहरु पनि सभापतिविरुद्ध नारा लगाएको देखेपछि आक्रोसित हुँदै भिडमा मुछिन पुगे। केहीबेर दुई पक्षका विद्यार्थीबीच आपसमा हानाहान भयो।
दक्षिणतर्फबाट एक जना आक्रोसित विद्यार्थीले गमला उठाएर भिडमा फाल्दा मुख्य प्रवेशद्वारको माथिल्लो चौकोसको टाँडालमा लागेर फुट्यो। जसको टुक्राले लाग्दा दुई जना विद्यार्थीलाई चोट लाग्यो। एकजना पन्त थरका विद्यार्थीको निधार नजिकै काटेर रक्ताम्य भएपछि उनलाई उपचारका लागि बाहिर पठाइयो।
त्यसपछि बाहिरको माहोल केही साम्य भएको थियो भने भित्र नेताहरुबीच यसअघि भएको सहमतिका अधारमा पार्टीको १४औं महाधिवेशनको कार्यतालिका र यसअघिको बैठकबाट भएको विधान निलम्बनको विषयमा के कसरी सहमति गर्ने र बाटो खुलाउने भन्ने विवादमा व्यस्त थिए।
त्यहिबीचमा पार्टी कार्यालयका कर्मचारीहरुले तेस्रो धारका विद्यार्थी समूहले बाहिरबाट केटाहरु बोलाएको जानकारी सुरक्षाकर्मीलाई दिएका थिए। साँझ पाँच बजेतिर भने नभन्दै उक्त समूह र सभापति देउवा पक्षका विद्याथीबीच फेरि केहीबेर झडपको स्थिति उत्पन्न भयो।
त्यसपछि पनि साँझ फेरि तेस्रो पटक विद्यार्थीहरुबीच हात हालाहाल र गमला हानाहानको स्थिति उत्पन्न भएपछि सुरक्षाकर्मीले उनीहरुलाई छुट्याएर बाहिर पठाएका छन्।
त्यो अवस्था देखेपछि सभापति निकट केन्द्रीय सदस्यहरुले तेस्रो धारका नेता सिटौलाविरुद्ध आक्रोस पोखे। उनीहरुको भनाई थियो, ‘एकातिर सिटौलाले समूहको नेता हुँ भन्दै भागवण्डा लिएर सहमति पनि गर्ने अनि अर्कोतर्फ आफ्नै पक्षका विद्यार्थीलाई आमरण अनसनको नाममा पार्टी कार्यालयमा अराजक गतिविधि गरी सभापति विरुद्ध नारावाजी गर्ने? यसको पछाडि सिटौलाको भूमिका के हो? कहिले यति प्रतिशत भागवण्डा चाहियो भनेर लिने अनि कहिले विधानको ३२ वर्षे हदम्याद हटाइदिउँ भन्ने यो उनको कस्तो रणनीति हो? यदि यस्तै हो भने सभापतिले या त सिटौलाको भाग खोस्नु पर्छ होइन भने सिटौलाले आफ्नो पक्षका विद्याथीलाई सस्तो लोकप्रियताका लागि मच्चाएको आराजकता राकेर दोषीमाथि कारबाही गर्नु पर्छ।’
संयोग नै मान्नु पर्छ, कांग्रेस पार्टी बी.पी., गणेशमान, सुवर्णशम्शेर र कृष्णप्रसाद जस्ता त्यागी महापुरुषहरुले विचारको राजनीति र प्रजातन्त्रका लागि स्थापना गरेका थिए। जसले राणा, पञ्चायतको विरुद्ध लडे भने अहिलेको नेतृत्वपंक्तिमा रहेका कतिपय नेताहरुले पंचायती निरंकुशता र ज्ञानेन्द्रको शाही शासनविरुद्ध शान्तिपूर्ण आन्दोलन गरेर मुलुकमा लोकतन्त्र स्थापना गरे।
त्यहि पार्टीका संस्थापका नेता बी.पी. कोइरालाको सम्झनामा कांग्रेसले आफ्नो केन्द्रीय कार्यालयको नाम समेत बी.पी. भवन राखेको छ। जसको मुख्य प्रवेशद्वारमा एकातिर जननायक बी.पी. कोइराला र अर्कोतर्फ सर्वोच्च कमाण्डर गणेशमान सिंहले कार्यकर्ता र जनतालाई सम्बोधन गरिरहेको झझल्को आउने कलात्मक मूर्ति कुँदिएको छ।
तर, तिनै नेताहरुको मूर्तिकै सामुन्ने उनैका चेला चपेटा र अनुयायीहरु आपसमा हात हालाहाल र गलमला फोराफोर गरेको देख्दा लाग्छ, त्यी दुई मूर्ति बनेर बसेका नेताहरुलाई आफूले लिएको बाटो र रोजेका कार्यकर्ता यस्तै हुन त? होइन भने, अहिलेका नेताहरुको नभएपनि त्यी मूर्तिमा कुँदिएर ढोकामा अडिएका नेताहरुको मन भएदेखि कति लज्जित हुन्थ्यो होला? काँही नभएको जात्रा सानेपामा
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय