नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं सभामुख पदका लागि प्रस्तावित उम्मेदवार अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा अदालतले चलाखीपूर्ण ढंगले सुनुवाईमा विलम्ब गरिदिएको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित तीन जना कानून व्यवसायीले शुक्रबार दायर गरेको रिट निवेदनमाथिको सुनुवाईका लागि सर्वोच्च अदालतका प्रधानन्यायाधीशले न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा पठाएपछि न्यायाधीश फुयालले उनको विषयमा सम्बन्धित अर्को मुद्दा आफूले हेरिरहेको भन्दै आजको इजलासमा उक्त मुद्दा हेर्न नमिल्ने भन्दै मुद्दा पर सारिदिए।
लामो समयदेखि रिक्त रहेको सभामुख पदका लागि नेकपाले सापकोटाको नाम संसद सचिवालयमा दर्ता गराएपछि अधिवक्ता त्रिपाठीले व्यक्ति हत्यामा संलग्न भएको आरोप लगाउँदै उनीविरुद्ध अदालतमा रिट दायर गरेका थिए।
काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा संलग्न भएको आरोप लगाउँदै सापकोटालाई तत्काल पक्राउ गरी अनुसन्धान प्रक्रिया शुरु गर्न र सभामुख हुनबाट रोक्न निवेदनकले माग गरेका थिए।
तर, अदालतको दैनिक कार्यसूचि तोक्ने अधिकार पाएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले उक्त रिट निवेदनमाथिको सुनुवाई फुयालको बेन्चमा पारिदिएपछि उक्त रिट निवदेनमाथिको सुनुवाईमा विलम्ब हुन गएको हो।
आजको सुनुवाईमा विलम्ब भएपछि प्रतिनिधि सभाको अपरान्ह ३ बजे बस्ने बैठकले सापकोटालाई बहुमतका आधारमा सभामुख पदमा निर्वाचित गराउने बाटो खुला भएको छ।
प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय