हिमाल दैनिक
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग समसामयिक राजनीतिक परिस्थिति र विभिन्न निकायमा रिक्त रहेका पदाधिकारीको नियुक्तिबारे छलफल गरेका छन्। शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आफ्नै पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्वितीय अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहित कांग्रेस सभापति देउवासँग छलफल गरेको उक्त छलफलमा सहभागी नेकपाका उपनेता नेम्वाङले जानकारी दिए। प्रधानमन्त्री ओलीले देउवालाई भेटवार्ताका लागि आमन्त्रण गरेपछि सभापति देउवा पनि आफ्नो दलका नेता रमेश लेखकलाई साथमा लिएर बालुवाटार पुगेका थिए। विगत लामो समयदेखि प्रधानमन्त्रीले संसदमा प्रमुख प्रतिपक्षी दलका नेता लगायत अन्य दलका प्रमुख नेताहरुसँग निरन्तर वार्ता र सहमतिका माध्यमबाट देशलाई अघि बढाउने निति लिँदै आएको उल्लेख गर्दै नेम्वाङले त्यसैको निरन्तरता आजको छलफल पनि भएको बताए। ‘यहि प्रक्रिया अन्तर्गत प्रधानमन्त्रीजीले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाजीसँग समसामयिक राजनीतिक विषयका अतिरिक्त चालु संसदमा उठ्न सक्ने राष्ट्रिय महत्वका विषयमा के कसरी अघि बढ्न सकिन्छ भन्नेबारे छलफल गर्नु भयो,’ नेता नेम्वाङले भने। नेम्वाङका अनुसार, लामो समयदेखि अन्यौलताको स्थितिमा रहेको सत्य निरुपण तथा मेलमिलाप आयोग, वेपत्ता छानविन आयोगमा पदाधिकारी नियुक्तिको विषय सहमतिकै आधारमा टुंगिएको र त्यस सम्बन्धी कानून संशोधनको विषयलाई सदनबाट कसरी अघि बढाएर शान्ति प्रक्रियाको बाँकी कार्यभार टुंगोमा पुर्याउने भन्नेबारे पनि छलफल केन्द्रीत रहेको थियो। त्यसैगरी विभिन्न विश्वविद्यालयहरुमा पदाधिकारीको नियुक्तिमा भएको ढिलाई र त्यसले पारेको नकारात्मक प्रभाव हटाउनेदेखि अन्य राष्ट्रिय महत्वको विषयमा पनि छलफल र समझदारीका आधारमा अघि बढ्नेबारे कुराकानी भएको उनले बताए। संविधानको धारा ९१ को उपधारा (२) बमोजिम प्रतिनिधि सभाको सभामुख र उपसभामुख अलग अलग दलको हुने व्यवस्था अनुरुप उपसभामुख पद प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई दिनेबारे भने आजको बैठकमा कुनै चर्चा नचलेको नेम्वाङले जानकारी दिए। ‘सभामुख पदमा सत्तापक्षको उम्मेदवारी रहेपछि उपसभामुख पदमा उहाँहरुको दाबी रहँदै आएको छ। तरपनि आजको भेटवार्तामा यसबारे कांग्रेस सभापति देउवाजीले कुनै कुरा गर्नु भएन,’ नेम्वाङले भने।
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update