नेपाली कांग्रेसभित्र पछिल्लो समयमा उत्पन्न विवाद समाधान गरी पार्टीलाई अघि बढाउने विषयमा सभापति शेरबहादुर देउवाले असन्तुष्ट पक्षका नेता रामचन्द्र पौडेलसहित कार्यदलका सदस्यहरुसँग छलफल गरेका छन्।
आफ्नै निवास बुढानिलकण्ठमा बुधबार अपरान्ह ४ बजेपछि करिब ३ घण्टासम्म चलेको वार्तामा पार्टीको १४औं महाधिवेशनको कार्यतालिकादेखि विवादको केन्द्रविन्दुका रुपमा रहेका विभिन्न एजेण्डामाथि छलफल भएको थियो।
दुई पक्षबीचको विवाद समाधानका लागि आन्तरिक गृहकार्यको जिम्मेवारी पाएका उपसभापति विमलेन्द्र निधि, नेताद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाबीच सोमबार भएको छलफलका आधारमा सभापति देउवाले नेता पौडेलसहित कार्यदलका तीन सदस्य तथा महामन्त्री पूर्णबहादुर खड्कालाई आफ्नै निवासमा अपरान्ह बोलाएका थिए।
‘आजको भेटवार्तामा गत मंसिर २६ गतेको केन्द्रीय कार्यसमितिमा प्रस्तुत एजेण्डा र पुस ११ गतेको बैठकले गरेका निर्णयमाथि समष्टिरुपमा छलफल भयो,’ बैठकपछि उपसभापति निधिले हिमाल दैनिकसँग कुरा गर्दै भने।
विवाद समाधानको विषयमा आजको छलफल सकारात्मक रहेको जानकारी दिँदै उपसभापति निधिले आजै सहमतिको निश्कर्ष भने ननिस्किएको जानकारी दिए।
बिहीबार हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनको कारण सबै नेताहरु आज र भोलि सबै प्रदेशका सम्बन्धित उम्मेदवार र मतदातासँग टेलिफोन सम्पर्क गरी पार्टीका उम्मेदवारको पक्षमा मत माग्न व्यस्त रहनु परेको कारण आजको बैठकलाई पुनः शुक्रबार निरन्तरता दिने जानकारी नेताहरुले दिएका छन्।
स्रोतका अनुसार, सभापति देउवा र पौडेलसहित कार्यदलका सदस्यहरुबीच शुक्रबार बिहान ९ बजे वार्तामा बस्ने सहमति भएको छ।
उक्त वार्तामा विवादको केन्द्रमा रहेको महाधिवेशन कार्यतालिका, नेविसंघको नयाँ कार्यसमिति गठन, नेपाल तरुण दलको विवाद, पार्टीका विभागको संख्या र गठन लगायतका विषयमा सम्भव भएपसम्म शुक्रबार नै सहमति कायम गरी अघि बढ्न नेताहरु तयार रहेका छन्।
प्रकाशित मिति: आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय