हिमाल दैनिक
मोदी-ओलीद्वारा आईसीपी चेकपोस्टको उदघाटन
pm oli-modi
प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई दुई देशबीच थाँती रहेका मुद्दा पनि सुल्झाउने बेला आएको बताएका छन् । विराटनगरको एकीकृत जाँच चौकीको भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओलीले मित्रताका आधारमा काम गर्यौं भने दुई पक्षीय सम्बन्ध थप उचाइमा लैजान सकिने बताए । प्रधानमन्त्री ओलीले दुई देशबीच थाँती रहेका मुद्दा सुल्झाउने बेला आएको पनि समकक्षी मोदीलाई सम्झाए। त्यस्तै प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणका लागि निम्तो पनि दिए । दुई देशबीचको सम्बन्ध नयाँ उचाईंमा पुगेको दावी गर्दै प्रधानमन्त्री ओलीले आगामी भ्रमणमा दुई देशबीच थाँती रहेका सबै विषय सम्वादबाट हल गर्न अवसर मिल्ने जिकिर गरे। त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अबको दशक भारत नेपाल सम्बन्धको स्वर्णिम दशक बन्ने बताए । विराटनगरमा निर्माण सकिएको एकिकृत चेकपोस्ट र गोरखा र नुवाकोटमा बनेका ५० हजार घर हस्तान्तरण गर्न मंगलबार प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भिडिओ कन्फेरेन्स भएको हो । विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा सो चेकपोष्ट १२९ बिघा क्षेत्रमा तयार गरिएको छ । चेकपोष्ट निर्माण गर्न भारत सरकारसँग सन् २००६ मै सम्झौता भए पनि यसको निर्माण सन् २०१६ देखि शुरु भएको हो ।
प्रकाशित मिति: शनिबार, माघ ४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update