हिमाल दैनिक
कांग्रेसभित्रको गतिरोध अन्त्यकालागि कार्यदलकाे सक्रियताः देउवा र पौडेलसहित बसेर सहमति खोजिँदै
83497793_10158030912837329_6746343889059184640_n
नेपाली कांग्रेसभित्र उत्पन्न असहज परिस्थितिको अन्त्य गरी सहमतिको माध्यमबाट अघि बढ्ने प्रयासले पुनः गति लिन थालेको छ। सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षका नेता रामचन्द्र पौडेल पक्षबीचको अन्तरविरोध हटाएर सहमतिको आधार खोज्न गठित कार्यदलको सोमबारको छलफलमा सभापति देउवा र नेता पौडेलसहित बसेर सबै विवादको समाधान खोज्ने सहमति भएको छ। पार्टी मुख्यालय सानेपामा उपसभापति विमलेन्द्र निधिको कार्यकक्षमा आज निधिसहित नेताद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाबीच भएको वार्तामा पार्टीको १४औं महाधिवेशनको तिथि, मिति ०७७ साल फागुन ७ गते नै कायम गर्दै बाँकी विवादित विषयमा सकारात्मक छलफल भएको एक नेताले बताए। गत मंसिर २६ गतेको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत एजेण्डामाथि असहमति जनाउँदै बैठक बहिष्कार गरेको असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन पुस ११ गतेको केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णयमाथि पनि छलफल भएको थियो। त्यसक्रममा नेविसंघको गठन, तरुण दलको कार्यकाल बढाएर समितिलाई पूर्णता दिनेदेखि पार्टीका विभागहरुको संख्या तथा गठन लगायतका विषयमा पनि सकारात्मक छलफल भएको त्यी नेताले बताए। कार्यदलले सहमतिको नजिक पुर्याएका सबै विषयलाई टुंग्याउनु पूर्व नेता सिटौलाले सभापति देउवा र पौडेललाई पनि छलफलमा राखेर सबै विषय टुंग्याउन उपयुक्त हुने सुझाव दिएका थिए। त्यसपछि नेताहरुले सभापति देउवा र पौडेललाई टेलिफोनमार्फत सिटौलाको प्रस्तावबारे जानकारी गराएका थिए। जसमा सभापति देउवा र पौडेल दुबै सहमत भएपछि चाँडै दुई शीर्ष नेतासहितको बैठक राखेर सबै विवादहरुको समाधानका लागि सहमति गर्ने वातावरण कांग्रेसभित्र बनेकोे छ। शीर्ष नेताहरसहितको बैठक कहिले बस्ने भन्नेबारे भने कुनै टुंगो लागेको छैन।
प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update