हिमाल दैनिक
प्रतिनिधि सभाको सभामुख र उपसभामुख दुई पदमध्ये सभामुख पदमा अग्निप्रसाद सापकोटालाई अघि सारेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संविधानको प्रावधान बमोजिम उपसभामुख पदमा आफ्नो दललाई छाड्न तयार भए प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख पदमा कुनै उम्मेदवारी नदिने भएको छ। सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद अन्त्य गर्दै सचिवालय बैठकले सांसद सापकोटालाई अघि सारेपछि सोमबार उपसभामुख शिवमाया तुम्बाहाङफेले संविधानको धारा ९१ को उपधारा (२) बमोजिमको व्यवस्था अनुसार पदबाट राजीनामा दिएपछि माघ १२ गते सभामुख पदका लागि निर्वाचनको कार्यतालिका प्रकाशित भएको छ। सभामुख पदको लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएलगत्तै प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाडले सत्तारुढ नेकपाले सभामुख पदको दाबी गरिसकेको र संविधानको धारा ९१(२) बमोजिम अलग अलग दलको प्रतिनिधि सभामुख र उपसभामुख हुने प्रावधान अनुसार उपसभामुख पदमा आफ्नो दललाई समर्थन गर्ने अवस्थामा सभामुख पदमा आफ्नो दलको दाबी नरहने बताए। ‘यदि सत्तापक्षले संविधानको प्रावधान अनुसार सभामुख पदमा उम्मेदवार तय गरिसकेपछि स्वत उपसभामुख पदमा दोस्रो ठूलो र प्रमुख प्रतिपक्षी दलको रुपमा कांग्रेसको दाबी रहनु स्वभाविक हो। हामी चाहन्छौं सत्तापक्षले सभामुख पद लिइसकेपछि उसले उपसभामुख पदमा हाम्रो दलको सदस्यलाई छोड्नु पर्छ। त्यस अवस्थामा सभामुख पदमा हाम्रो दलको उम्मेदवारी रहँदैन,’ खाडले भने। सभामुख र उपसभामुख पदको बाँडफाँटको विषयमा अहिलेसम्म सत्ता र प्रमुख विपक्षी दलबीच कुनै औपचारिक वार्ता भने भइसकेको छैन। भोलि सम्ममा मनोनयनको कार्यतालिका रहेको अवस्थामा यदि दुई दलबीच वार्ता र सहमति भएन भने पनि उपसभामुख पदका लागि दाबी गरेको कांग्रेसले सभामुख पदमा उम्मेदवारी दिने सम्भावना न्यून रहेको छ। उता सत्तारुढ नेकपाभित्र भने सभामुख पदमा सापकोटालाई अघि सारेपछि रिक्त रहेको उपसभामुख पदमा सरकारसँग पछिल्लो समय नजिकिएको मधेस केन्द्रीत राजपा अथवा राष्ट्रिय जनमोर्चामध्ये एक दलको सदस्यलाई दिने आन्तरिक छलफल चलिरहेको छ।
प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update