हिमाल दैनिक
निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निर्देशन अस्विकार गरी संविधान र संसदीय प्रणालीको लडाई जितेर दाबी गरेकीछिन्। लामो समयदेखि नेकपाभित्रको विवाद अन्त्यसँगै पार्टीले सांसद अग्निप्रसाद सापकोटालाई सभामुख पदको उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्ट सोमबार प्रतिनिधि सभाको बैठकमार्फत उपसभामुख पदबाट राजीनामा दिएलगत्तै पत्रकार सम्मेलन मार्फत उनले पार्टी नेतृत्वविरुद्ध गम्भीर असन्तुष्टि पोखेकीछिन्। उनले पार्टीको निर्देशन नमानेर अटेर गरी बसेर प्रणालीको लडाई जितेको तर, पितृसत्तासँग हार खाएको बताइन्। तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि आफ्नै सचिवालयकी महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेपछि पार्टीको निर्देशनमा असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए। महराको राजीनामा पश्चात रिक्त रहेको उक्त पदमा तुम्बाहाङफेले आफूले कुनै गल्ती नगरेको र महराले गरेको गल्तीमा आफूलाई सजाय स्वरुप उपसभामुख पदबाट राजीनामा गराउने भन्दा सभामुखको जिम्मेवारी दिन सत्तापक्षका नेता र प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेकी थिइन्। उनको पक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीको समेत नैतिक समर्थन रहेपछि पार्टीभित्र विघटिन नेकपा एमाले र नेकपा माओवादी गुटकै आधारमा पदको बाँडफाँट अनुसार सभामुख पदमा माओवादी खेमाले अडान नछाडेपछि ओली पनि नेकपाका नेता अग्निप्रसाद सापकोटालाई सभामुख बनाउन सहमत भएका थिए। https://www.facebook.com/himaldainik/videos/171549394201037/?t=15 पार्टीले आफूलाई महिला भएको कारण सभामुख पद नदिएर सापकोटालाई सभामुख पदमा अघि सारेको आशयमा तुम्बाहाङफेले आफू पितृसत्तात्मक पार्टी नेतृत्व र समाजसँग हारेको बताएकी हुन्। पदबाट राजीनामा दिएपछि सोमबार संसद भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै उनले आफू दलको नभई प्रतिनिधिसभाको उपसभामुख भएकाले आफूले दलको निर्णय अटेर गरेको स्पष्टिकरण दिइन्। संविधानले नेतृत्वबिहीन प्रतिनिधि सभाको कल्पना नगरेकाले पनि आफूले राजीनामा दिन आवश्यक नरहेको ठम्याएको उनको भनाई छ। उहाले राजीनामा नगर्नु र सभामुखका लागि दाबी गर्नुमा आफूलाई कुनै संस्था वा व्यक्तिको संरक्षण नभएको पनि स्पष्ट पारिन्। तुम्बाहाङ्फेले कसैको निर्देशनमा राजीनामा नदिएको स्पष्टिकरण दिएर आफूलाई दलीय व्यवस्थामा दलको सदस्यभन्दा पृथक जस्तो देखाउने कोशिश गरिन्। आफूले राजीनमा दिएपछि प्रतिनिधिसभामा नयाँ नेतृत्व सुनिश्चित भएको पनि तुम्बाहाङ्फेले बताइन्।
प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update