संविधानको प्रावधानलाई वेवास्ता गर्दै प्रतिनिधि सभाको सभामुख र उपसभामुख दुबै पद ओगटेर बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई परिस्थितिले नै संविधानको पालना गर्न बाध्य पारिदिएको छ।
०७४ सालको आम निर्वाचन लगत्तै विजय उन्मादमा रहेको तत्कालिन नेकपा एमाले र नेकपा माओवादीबीचको एकता पश्चात पनि संविधानको धारा ९१ को उपधारा (२) विपरित सभामुख र उपसभामुख दुबै पदमा कब्जा जमाएको थियो।
संविधानको उक्त उपधारामा सभामुख र उपसभामुखमध्ये एक जना महिला र दुई पदमा फरक फरक दलको प्रतिनिधि हुनु पर्ने प्रावधान रहेको भन्दै त्यतिबेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनभित्र र बाहिर पनि आवाज उठाएको थियो।
तर, त्यसको बदलामा आफ्नो दल निकट कानून व्यवसायीको सहायतामा सर्वोच्च अदालतमा रिट निवेदन परेपछि संविधानको व्याख्या गर्ने जिम्मेवारी र दायित्व बोकेको अदालतले उक्त विषयलाई व्याख्या नगरीदिएपछि तत्कालिन सभामुख कृष्णबहादुर महराले संविधान बमोजिम अदालतमा विचाराधिन विषयमा बोल्न नहुने भन्दै विपक्षी दलको मुख बुझो लगाइदिएका थिए।
केन्द्रदेखि ६ प्रदेशसम्म नै सभामुख र उपसभामुख पदमा नेकपाका सदस्यहरुले भागवण्डा गरी कब्जा जमाएर संविधानको उलंघन गर्दा पनि त्यसपछिका दिनमा कुनै आवाज आएको थिएन।
तर, एकाएक तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि आफ्नै सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि उनी असोज १४ गते पार्टी निर्देशन अनुसार पदबाट राजीनामा दिन बाध्य भएका थिए।
त्यसपछि रिक्त हुन पुगेको सभामुख पदमा निर्वाचनको प्रक्रिया सुरु गर्नुअघि सत्तारुढ नेकपाभित्र आन्तारिक विवादले एक महिनासम्म सदन अवरुद्ध भएको थियो।
यसका अतिरिक्त सत्तारुढ नेकपाले सभामुख पदमा दाबी गर्नका लागि संविधानको धारा ९१ को उपधारा (२) मा उल्लेखित प्रावधानले जटिलता उत्पन्न गरेपछि नेकपाले बाध्य भएर उपसभामुख शिवमाया तुम्बाहाङफेलाई पदबाट राजीनामा दिन बाध्य बनायो।
लामो समयदेखि सभामुख पदको आकांक्षा बोकेर उपसभामुख पदमा रहिरहेकी तुम्बाहाङफे पनि आइतबार नेकपा सचिवालय बैठकले सभामुख पदमा पूर्वमाओवादी नेता अग्निप्रसाद सापकोटालाई अघि सार्ने निर्णय गरेपछि बाध्य भएर सोमबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएकी छिन्।
फलस्वरुप अब हुने सभामुख र उपसभामुख पदको निर्वाचन प्रक्रियाले संविधानको धारा ९१ को (२) को पालना हुने मात्र होइन, आगामी दिनमा सभामुख पदमा दाबी गरेको नेकपाको हातबाट उपसभामुख फुत्किने भएको छ।
नेकपाले सभामुख पदमा सापकोटालाई अघि सारिसकेको अवस्थामा आजदेखि रिक्त हुन पुगेको उपसभामुख पदमा नेकपासँग नजिकिन पुगेको राष्ट्रिय जनता पार्टी, नेपालको कुनै महिला सांसद अथवा राष्ट्रिय जनमोर्चाकी एकली सांसद दुर्गा पौडेलको पक्षमा पुग्ने सम्भावना बढेको छ।
https://www.facebook.com/himaldainik/videos/875710289526275/?t=4
प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय