हिमाल दैनिक
झण्डै एक महिनासम्म संसद अवरुद्ध पार्दै आन्तरिक विवादमा अल्झिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुख पदका लागि नेकपा सांसद तथा पूर्व माओवादी नेता अग्नीप्रसाद सापकोटालाई अघि सार्ने भएको छ। पूर्व सभामुख कृष्णबहादुर महरामाथि यौन दुव्र्यवहारको आरोप लागेर पदबाट राजीनामा दिएपछि नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच उक्त पदमा कसलाई अघि सार्ने भन्ने गम्भीर मतभेद रहेको थियो। पार्टी एकीकरण हुनु अघि भागवण्डाको आधारमा पूर्व माओवादी कोटामा परेको सभामुख पदमा अन्ततः दाहालको अडान बमोजिम सापकोटालाई सभामुख बनाउन ओली सहमत भएका हुन्। आइतबार बिहान दुई नेताबीच भएको अनौपचारिक सहमति पश्चात साँझ प्रधानमन्त्री बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सापकोटाको नाम अघि सार्ने निर्णय गरेपश्चात सभामुखको विवाद समाप्त भएको छ। पुस ४ गते सुरु भएको हिउँदे अधिवेशन सभामुख पदका लागि नेकपामा भएको विवादका कारण निरन्तर अबरुद्ध हुँदै आएको थियो। यद्यपि संविधानको धारा ९१ को उपधारा २ बमोजिम उक्त पदमा नेकपाका सांसद सापकोटाको मनोनयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक हुनु पूर्व उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिनु पर्दछ।
प्रकाशित मिति: बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update