शान्ति प्रक्रियालाई टुंगो लगाउन स्थापना भएका दुई महत्वपूण आयोगमा पदाधिकारी नियुक्तिको विषयले बल्ल पूर्णता पाउने भएको छ।
सत्य निरपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन गर्न गठित आयोगका पदाधिकारी नियुक्तिका लागि सरकारले ०७५ चैतमा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित सिफारिस समितिले शनिबार दुबै आयोगका प्रमुख तथा पदाधिकारीको नाम नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
शनिबार बसेको सिफारिस समितिले सत्य निरुपण तथा मेलमिलाप आयोगमा गणेश भट्टदत्त र बेपत्ता पारिएका व्यक्तिहरुको छानविनका लागि गठित आयोगमा युवराज सुवेदीलाई पमुख पदमा सिफारिस गर्ने निर्णय गरेको सिफारिस समितिका एक सदस्यले जानकारी दिए।
यसअघि शुक्रबार र शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठकले दुबै आयोगका पदाधिकारी र सदस्यहरुको नियुक्ति सहमतिका आधारमा टुंगो लगाउने सहमति भए लगत्तै आयोगले दुबै आयोगका प्रमुखमा क्रमशः भट्ट र सुवेदीको नाम सिफारिस गरेको हो।
दुई दलबीच सत्य निरुपण तथा मेलमिलाप आयोगमा कांग्रेस र बेपत्ता छानविन आयोगमा नेकपाको तर्फबाट प्रमुख तथा सदस्यहरुमा पनि आपसी भागवण्डा मिलाएर पदपूर्तिको सिफारिस गर्ने निर्णय भएको हो।
जस अनुसार, मेलमिलाप आयोगमा कांग्रेसका तर्फबाट प्रमुखमा भट्टका अतिरक्त एक सदस्यका रुपमा प्रचण्डमान श्रेष्ठ तथा नेकपाको तर्फबाट गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेलको नाम सदस्यमा सिफारिस भएको छ। त्यसैगरी बेपत्ता छानविन आयोगमा नेकपाको तर्फबाट सुवेदी प्रमुख र एक सदस्यमा विष्णु भण्डारी तथा कांग्रेसका तीन सदस्यहरुमा सुनिलरञ्जन सिंह, गंगाधर अधिकार र सरिता थापाको नाम सिफारिस भएको छ।
प्रकाशित मिति: बुधबार, माघ १, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय