हिमाल दैनिक
लामो समयदेखि पदाधिकारी विहिन अवस्थामा रहेको सत्य निरुपण तथा मेलमिला आयोग तथा बेपत्ता छानविन आयोगमा पदपूर्तिको विषयमा छलफल गर्न सत्ता र प्रमुख प्रतिपक्षी दलका नेताहरु बालुवाटारमा भेला भएका छन्। आयोगमा पदाधिकारी नियुक्तिको सिफारिसका लागि यसअघि सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित सिफारिस समितिले शनिबारसम्ममा नाम सिफारिस गर्ने तयारी गरेपछि नेताहरु चिसिएको मौसममा पनि तातेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगका पदाधिकारी नियुक्तिको विषयमा परामर्श गर्न बिहान १० बजेतिर विपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका थिए। बिहान १० बजेतिर सभापति देउवा आफ्नो पार्टीका नेताद्वय मीनेन्द्रप्रसाद रिजाल र रमेश लेखकलाई साथमा लिएर बालुवाटार पुगेका छन्। प्रधानमन्त्रीले बोलाएको छलफलमा प्रधानमन्त्री ओलीका अतिरिक्त सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका द्वितीय अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ उपस्थित रहेका छन्। माओवादी द्वन्द्धका नाममा १० वर्षसम्म चलेको हिंसाको शान्तिपूर्ण अवतरण पश्चात भएको शान्ति सम्झौता अनुसार अझै पनि कतिपय द्वन्द्धकालिन घटनाको छानविन तथा सन्य निरुपण गरी दोषीलाई मेलमिला अथवा कारबाहीको विषयमा टुंगो लगाउन बाँकी नै छ। द्वन्द्धका घटनाको विषयमा छानविन गरी निरुपण गर्न संविधान र कानून बमोजिम गठन भएको सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको विषयमा छानविन गर्न गठित आयोगका पूर्व पदाधिकारीहरुले निर्धारित समयमा काम सम्पन्न गर्न नसकेपछि उक्त आयोगमा नयाँ पदाधिकारी नियुक्तिको विषयमा दलहरुबीच पटक पटक वार्ता भएपनि टुंगो लाग्न सकिरहेको छैन। यसैबीच मिश्रको संयोजकत्वमा रहेको सिफारिस समितिले भोलिसम्ममा बैठक राखेर आयोगमा पदाधिकारी नियुक्तिको सिफारिस गर्ने तयारी गरिरहेको स्रोतले बतायो।
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update