गृहमन्त्री रामबहादुर थापाले विपदलाई सही ढंगले व्यवस्थापन गर्न सके मात्रै समृद्ध नेपाल, सुखी नेपालीको नारा पूरा गर्न सकिने बताएका छन् ।
बिहिबार २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा काठमाडौको भुगोल पार्कमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले सुरक्षित पूर्वाधार निर्माणका लागि नागरिकलाई सचेत बनाउन सकेको अवस्थामा दीगो सुख र समृद्धिको आधार निर्माण गर्न सकिने बताएका हुन् ।
गृहमन्त्री थापाले जोखिमहरुको न्यूनीकरण र व्यवस्थापनको पूर्व तयारी विगतमा गरिएका कार्यहरुको समीक्षा गर्न यस्ता दिवस मनाउने गरिएको बताए । उनले जोखिम व्यवस्थापन गर्न सरकार एक्लैले मात्र नसक्ने भएकाले आम नागरिकलाई पनि सचेतना फैलाएर सचेत बनाउन जरुरी रहेको बताए । उनले सुरक्षित पूर्वाधारमा पहिलो कुरा नागरिक सचेतना भएको भन्दै नागरिकहरुलाई सचेत बनाउने सकेको अवस्थामा त्यसले दिगो सुख र समृद्धिको आधार निर्माण गर्ने उल्लेख गरे ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताए । कमजोर पूर्वाधारका कारण कुनै पनि मानवीय क्षति नहोस् भन्नका लागि सरकारले पूर्वाधारण निर्माणमा विशेष ध्यान दिएको जानकारी दिए । भूकम्पले भन्दा पनि मानिसले निर्माण गरेका पूर्वाधार र संरचनाका कारण क्षति हुने गरेकाले नेपाल सरकारले पूर्वाधार निर्माणमा ध्यान दिएको उनको भनाई छ ।
सरकारले पुस १५ गतेदेखि माघ १५ गतेसम्म विभिन्न कार्यक्रम गरी भूकम्प सम्बन्धी जनचेतना फैलाइरहेका छ । गृहमन्त्रालयले सातवटै प्रदेश, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७५३ वटै स्थानीय तहलाई निर्देशन दिएको छ । विक्रमसंवत १९९० सालमा गएको भुकम्पको सम्झनामा भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालेको थियो ।
प्रकाशित मिति: सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय