
करिब साढे चारवर्ष अघिको विनाशकारी महाभूकम्पले क्षतिग्रस्त बनेको सिंहदरबारस्थित नेपालकै पहिलो संसद भवन भत्काइने भएको छ।
मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको बिकास तथा प्रविधि समितिले राणाकालीन उक्त भवन रेट्रोफिटिङ गरेर प्रयोगमा ल्याउन सक्ने अवस्था नरहेको भन्दै भत्काउन निर्देशन दिएको हो।
समितिकी सभापति कल्याणली खड्काले उक्त भवनलाई यथास्थितिमा राखिराख्ने अवस्था नभएकोले त्यसलाई भत्काएर पुरानो कला संस्कृति झल्काने गरी नयाँ भवन बनाउन निर्देशन दिइन्।
बैठकमा सहरी विकास मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उक्त भवन भत्काउन प्रस्ताव गरेको थियो। भूकम्पका कारण क्षतिग्रस्त उक्त भवन भत्काउने कि नभत्काउने भनी प्राधिकरण, मन्त्रालय र पूरातत्व विभागबीच विवाद हुँदा अहिलेसम्म प्लास्टिकले छोपेर जीर्ण अवस्थामा नै राखिएको छ।
समिति सभापति खड्काले भवन यत्तिकै बचाएर उपयोग गर्ने सम्भावना कम भएकाले मौलिकता कायम राखेर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको जानकारी दिइन्।
बैठकमा सहरी विकास मन्त्रालयका सचिव मधुसुधन अधिकारीले सिंहरदरबारभित्र रहेको पुरानो संसद भवन भत्काएर स्टेट गेस्ट हाउस बनाउने विज्ञको राय रहेको जानकारी दिए।
त्यस्तै पुनर्निर्माण प्राधिकरणका सचिव शिवहरि शर्माले विदेशी पाहुना आउँदा मिटिङ गर्ने, डिनर गर्ने हल चाहिने परराष्ट्र मन्त्रालयको माग रहेको र त्यसलाई सम्बोधन गर्न स्टेट गेस्ट हाउस वा स्टेट हल बनाउन सकिने पनि बताए।
लामो समयदेखि संसद भवनका रुपमा उपयोग भएको उक्त भवन २०६४ सालको संविधानसभा निर्वाचनपछि भने प्रयोग बिहिन बनेको थियो। २०६४ सालमा पहिलो संविधानसभाको निर्वाचनबाट सांसद संख्या ६०१ पुगेपछि यो हल साँघुरो भयो, त्यसपछि संसदले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएर संचालनमा आएको थियो।
प्रकाशित मिति: शनिबार, पुस २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय