नेपाली कांग्रेसभित्र विगत एक महिनादेखि उत्पन्न आन्तरिक विवादको समाधान सहमतिकै आधारमा खोज्न सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षका नेताद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाबीच पुनः सम्वादको थालनी सुरु भएको छ।
आइतबार साँझ सभापति देउवाको निवास बुढानिलकण्ठमा पार्टी नेता पौडेल र सिटौला पुगेर करिब डेढ घण्टा वार्ता गरी बाहिरिएपछि कांग्रेसभित्र पछिल्लो समय उत्पन्न संवादहिनताको परिस्थितिलाई अन्त्य गर्दै पुनः सम्वाद र सहमतिकै आधारमा समस्याको समाधान खोज्ने प्रक्रियाले गति लिन थालेको हो।
सभापति देउवासँग टाढिएर पौडेल समूहसँग पछिल्लो समय नजिकिएका नेता सिटौलालाई साथ लिएर करिब साढे ६ बजेतिर सभापति निवासमा पौडेल पुगेका थिए।
देउवा निवासमा सभापति देउवाका अतिरिक्त महामन्त्री पूर्णबहादुर खड्का र नेता रमेश लेखकसमेतको उपस्थितिमा नेताहरुबीच पार्टीका नेता र कार्यकर्तासँगै देश र जनताको हितका लागि पनि सबै समस्याको समाधान सहमतिकै आधारमा गरेर पार्टीलाई अघि बढाउने विषयमा छलफल भएको जानकारी नेता लेखकले दिए।
‘विगत केहि समयदेखि उत्पन्न विवाद र असहमतिका कारण नेताहरुबीच जुन दूरी र असामन्जस्यता उत्पन्न भएको थियो त्यो दूरी मेटाएर सहज वातावरणमा पार्टीलाई अघि बढाउने कार्यले आजको छलफलबाट पुनःनिरन्तरता पाएको छ,’ लेखकले भने।
पार्टीभित्र देखिएका सबै प्रकारका विवाद र समस्याको समाधानका लागि उपसभापति विमलेन्द्र निधि र नेता प्रकाशमान सिंहसहितको कार्यदलले आन्तरिक छलफल र सहमति गरी दिएको सुझावका आधारमा नेताहरुबीच सहमतिकै माध्यमबाट अघि बढ्ने विषयमा एकमत रहेको पनि लेखकले बताए।
नेता पौडेल आफ्नो स्वास्थ्य परिक्षणका लागि तत्काल भारततर्फ जानु पर्ने भएको कारण वार्ताको माध्यमबाट गतिरोध अन्त्यको सुरुवात गर्दै कार्यदललाई आन्तरिक गृहकार्य गरी सहमतिको खाका बनाउन र भारतबाट फर्किएपछि कार्यदलको सुझावका आधारमा सहमति कायम गरी अघि बढ्ने तयारी रहेको बताइएको छ।
मंसिर २६ गतेबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत एजेण्डामाथि असहमति जनाउँदै बैठक बहिष्कार गर्दै आएको असन्तुष्ट पक्षलाई मनाउने कोशिश विफल भएपछि पुस ११ गतेको बैठकले लिएको निर्णय पश्चात कांग्रेसभित्रको विवाद चुलिमा पुगेर सडकसम्म छताछुल्ल हुन पुगेको थियो।
विशेष गरी भातृ संस्थाहरुको गठन तथा म्याद थपदेखि विभागको संख्या बृद्धि र गठन, १४औं महाधिवेशनको कार्यतालिका लगायतका विषयमा सभापति देउवाले असन्तुष्ट पक्षको अुनपस्थितिमै निर्णय लिएपछि पौडेल र सिटौला पक्ष थप आक्रोसित बन्दै बहमुतको आडमा सभापतिले आल्पमतलाई पेल्ने अवस्थामा आफूहरु सभापतिलाई समेत नभेट्ने सम्मका धम्किपूर्ण अभिव्यक्ति दिएका थिए।
जसले आम कार्यकर्तामा निराशा उत्पन्न गरेको थियो। असन्तुष्ट समूहले सभापतिको विरुद्धमा आधार तय गर्ने क्रममा पछिल्लो अवस्थाको विषयमा आफ्नो पक्षमा रहेका जिल्ला सभापतिहरुलाई राजधानीमा बोलाएर परामर्श समेत गरेको थियो।
पौडेल लगायतका नेताहरुसँग तीन दिनसम्म गरेको परामर्श पश्चात सभापति देउवालाई परामर्शबाट तयार पारेको निश्कर्ष सहितको ज्ञापन पत्र बुझाउन पुगेका जिल्ला सभापतिहरुले पनि सभापति देउवालाई पार्टीभित्रको गतिरोध अन्त्य गरी पार्टीलाई अघि बढाउन सुझाव दिएका थिए।
त्यसैको पछिल्लो परिणाम स्वरुप आज शीर्ष नेताहरुबीच वार्ता प्रक्रियाले पुनः गतिलिन थालेको हो।
प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय