हिमाल दैनिक
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको आन्तरिक किचलोको मारमा प्रतिनिधि सभा पर्न पुगेको छ। विगत चार महिनादेखि रिक्त रहेको सभामुख पदमा विघटित नेकपा एमाले कि नेकपा माओवादी पक्षको नेतालाई चयन गर्ने भन्ने विषयमा सहमति जुट्न नसकेपछि पुस ४ गतेदेखि सुरु भएको विधेयक अधिवेशन पटक पटक सूचना प्रकाशित गर्दै स्थगित हुँदै आएको छ। सभामुख पदमा आफूलाई पदोन्नती गर्न मागगर्दै आएकी उपसभामुख शिवमाया तुम्बाहाङफेले नेकपा सचिवालय बैठकको निर्देशन वेवास्ता गर्दै पदबाट राजीनामा दिन नचाहेपछि आजको बैठक पनि सूचना मार्फत स्थगित गर्दै माघ ६ गतेका लागि सारिएको संसद सचिवालयले जनाएको छ। यसअघिका सभामुख कृष्णबहादुर महरामाथि यौन दुराचारको आरोप लागेर थुनामा परेपछि रिक्त रहेका पदमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वासीपात्र पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई र अर्का नेता पुष्पकमल दाहालले अग्नि सापकोटालाई अघि सारेपछि सत्तारुढ दलको अनिर्णयको बन्दी संसद बन्न पुगेको छ। उता राष्ट्रपति विद्यादेवी भण्डारीको साथ र समर्थनमा सभामुख पदका लागि दाबी गर्दै उपसभामुख पदबाट राजीनामा दिन नमानेकी तुम्बाहाङफेको कारण पनि संसद प्रभावित भएको हो। दलको सचिवालय बैठकले गरेको निर्णय समेत अटेर गरी उपसभामुख बसेको विषयमा कतिपयले यसलाई प्रधानमन्त्री ओली र नेम्वाङको रणनीतिक चालवाजीका रुपमा रहेको चित्रण गर्न थालेका छन्। उपसभामुखको अडान प्रधानमन्त्री ओली र नेम्बाङको रणनीति अनुरुप पूर्व एमालेको कित्तामा नआएसम्मका लागि भएको स्रोतको दाबी छ। आजै सूचना टाँस गर्नुअघि ओली र दाहालसँगै महासचिव विष्णु पौडेल उपस्थित बालुवाटार बैठकमा उपसभामुख तुम्बाहाङफे पनि पुगेकी थिइन्। यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले देशका यतिधेरै जल्दा बल्दा समस्याको विषयमा सदनभित्र छलफल गरी सरकारलाई उपयुक्त सुझाव दिने महत्वपूर्ण संसदीय थलोलाई सत्तारुढ नेकपा र यसको नेतृत्वमा रहेको सरकारले अनिर्णयको बन्दी बनाएर संविधान र संसदीय व्यवस्थामाथि कार्यकारी र पार्टी सचिवालयको छायाँ पारेको आरोप लगाइन्। उनले तत्काल संसदको गतिरोध अन्त्य गरी सभामुख चयनको प्रक्रिया अघि बढाई सार्वभौमसत्ता सम्पन्न संसदको गरिमा कायम गर्न पनि माग गरिन।
प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update