विगत चारमहिनादेखि सभामुखको सपना देखेर रमाउँदै आएकी उपसभामुख शिवमाया तुम्बाहाङफेको उपसभामुख पद समेत जाने भएको छ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभाका उपसभामुख तुम्बाहाङफेको राजीनामा मागेपछि उनको सभामुख बन्ने सपनामात्र होइन उपसभामुखको पद र प्रतिष्ठा समेत खोसिने भएको छ।
तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि यौनदुराचारको अभियोग लागेर प्रहरी हिरासतमा गएपछि रिक्त रहेको सभामुख पदमा आफूलाई पदोन्नोति गर्न माग गर्दै उपसभामुखको हैसियतले सभामुखको काम कारबाही गर्दै आएकी तुम्बाहाङफेको राजीनामा माग्ने निर्णय सत्तारुड दलले गरेको हो।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले नयाँ सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन संवैधानिक र कानूनी बाधकको रुपमा रहेकी उपसभामुख तुम्बाहाङफेको राजीनामा माग्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
तर, राष्ट्रपतिको आड र भरोसाका कारण पार्टी नेतृत्वले पटक पटक आग्रह गर्दा पनि उपसभामुख तुम्बाहाङफेले पदबाट राजीनामा नदिएर सभामुख पदमा आफूलाई निर्वाचित गराउनु पर्ने अडान लिँदै आएकी थिइन्।
दुई वर्षअघि प्रतिनिधि सभाको गठन लगत्तै तत्कालिन नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकीकरण भएपश्चात प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र केही संविधानविदहरुले संविधानको प्रावधान अनुरुप सभामुख र उपसभामुख दुबै पद नेकपाले राख्न नहुने भन्दै एउटा पद कुनै अलग दललाई दिन सुझाएका थिए।
तर, उक्त संवैधानिक र कानूनी प्रावधानलाई वेवास्ता गर्दै सत्तापक्ष र सभामुखले त्यतिबेला आफूहरु सभामुख र उपसभामुख हुँदा अलग थलग दलको सदस्य भएको र पदमा निर्वाचित भएपछि कुनै दलको सदस्य नरहेको भन्ने तर्क गर्दै टारेका थिए। त्यसका बाबजूद पनि यसबारे आवाज उठिरहेपछि सत्तारुढ दल निकटस्थ कानून व्यवयासायीले उक्त विषयमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गराई अदालतमा विचाराधिन विषयमाथि सदनमा बहस हुन नसक्ने भन्दै प्रतिपक्षको आवाज दबाइएको थियो।
तर, पछिल्लो समयमा सभामुख महरामाथि आफ्नै सचिवालयमा कार्यरत महिलामाथि यौनदुराचारको आरोप लागेपछि तत्काल नेकपा सचिवालय बैठक बसेर महराको राजीनामा मागिएको थियो। त्यसपछिका दिनमा उपसभामुख तुम्बाहाङफेले पुरानो अडान अनुसार, पदमा रहिरहेर सभामुख पदको निर्वाचन प्रक्रिया अघि बढाए विपक्षी दलले संविधान र कानूनको आधारमा उक्त पदमा नेकपाको दाबी रहन नसक्ने भनि संवैधानिक प्रश्न उठाउने खतरा देखेपछि सत्तारुढ दलले उपसभामुखलाई राजीनामा दिन बाध्य पारेको हो।
यदि उपसभामुख तुम्बाहाङफेले पार्टी निर्णय बमोजिम पदबाट राजीनामा दिइन भने संसद सचिवालयले संविधान र संसद नियमावली अनुसार सभामुख र उपसभामुखको नयाँ निर्वाचन प्रक्रिया अघि बढाउने छ। जसमा सभामुख पदमा सत्तारुढ नेकपाको सांसद सदस्य निर्वाचित भएपछि उपसभामुख पदमा भने नेकपा भन्दा बाहिरको दलको सदस्य निर्वाचित हुने निश्चित प्राय छ।
पार्टी र सरकारभित्रको शक्ति संघर्षका कारण सभामुख पदमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वासीपात्र एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई चयन गर्न चाहने र द्वितीय अध्यक्ष पुष्पकमल दाहालले पूर्वमाओवादीको कोटामा रहेको सभामुखमा अग्नी सापकोटालाई पठाउन चाहँदा सत्तारुढ दलभित्रको किचलोले सदन अबरुद्ध हुन पुगेको छ।
असोज १४ गते हिरासतमा पुगेका महराको स्थानमा नयाँ सभामुखको निर्वाचन हुन नसक्दा पुस ४ गतेदेखि सुरु भएको प्रतिनिधि सभाको बैठक निरन्तर सूचना टाँस गर्दै स्थगित हुँदा सत्तारुढ दल र सरकारमाथि सदनलाई अनिर्णयको बन्दी बनाएको आरोप लाग्दै आएको छ।
नेकपा सचिवालय बैठकपछि प्रवक्ता श्रेष्ठले नेकपाको तर्फबाट रिक्त सभामुख पदका लागि उम्मेदवारी दिने निर्णय भएको र त्यसका लागि उपसभामुख पदमा नेकपा पार्टीबाट निर्वाचित शिवमाया तुम्बाहाङफेले राजीनामा माग्ने निर्णय भएको जानकारी दिएपछि कसलाई सभामुख बनाउने भन्नेबारे केही बताएनन्।
सभामुखको उम्मेदवार को भन्ने प्रश्नमा श्रेष्ठले पहिला उपसभामुखको राजीनामा आएपछि तय हुने जवाफ दिए।
शुक्रबार अध्यक्षद्वय ओली र दाहाललाई भेटेर तुम्बाहाम्फेले आफू सभामुखका लागि योग्य भएको दाबी गर्दै उक्त पदमा आफैँलाई निर्वाचित गराउन आग्रह गरेकी थिइन्। तर, उनको आग्रहप्रति नेताहरु गम्भीर नभएपछि आइतबारका लागि बोलाइएको संसदको बैठकपूर्व सभामुखको विषय टुंगो नलागे नियमित प्रक्रिया अघि बढाउन दिन पनि आग्रह गरेकी थिइन्।
प्रकाशित मिति: बुधबार, पुस २३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय