हिमाल दैनिक
सानेपामा ३ दिनसम्म तातेका जिल्ला सभापतिहरु देउवालाई भेटेपछि ठण्डा भए
81594018_1193038854235471_1871619805543399424_n
पार्टीभित्रको विवादको विषयमा परामर्शका लागि भन्दै असन्तुष्ट पक्षले राजधानीमा बोलाएका नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले सभापति शेरबहादुर देउवालाई भेटेपछि पार्टीभित्रको वास्तविकता थाहा पाएका छन्। पछिल्लो समय केन्द्रीय कार्यसमिति बैठकले एकलौटी ढंगले निर्णय गरेर पार्टीलाई अप्ठ्यारोमा पारेको आरोप लगाउँदै असन्तुष्ट पक्षका नेता रामचन्द्र पौडेल पक्षले तीन दिनसम्म परामर्शमा प्राप्त सुझाव समेटी तयार पारेको ज्ञापन पत्र बुझाउन पुगेका जिल्ला सभापतिहरुलाई सभापति देउवाले सुरुमै नतमस्तक बनाइदिए। सभापति देउवाको निवास बुढानिलकण्ठमा बिहान साढे १० बजे सुरु भएको सभापति र पदाधिकारीहरुको अनौपचारिक छलफलको सुरुमा काभ्रे जिल्ला सभापति मधु आचार्यले आफूहरुले छलफलबाट तयार पारेको ज्ञापनपत्र वाचन गर्दै सभापति देउवालाई बुझाएका थिए। त्यसपछि विगतमा भन्दा फ्रेस मुड तर गम्भीर मुद्रामा उपस्थित भएका सभापति देउवाले जिल्ला सभापतिहरुलाई सुरुमै यसरी मनोवैज्ञानिक प्रभाव पारिदिए कि राजधानीको चिसोमा तीन दिनसम्म गुटगत राप र तापले राँक्किएर बुढानिलकण्ठ पुगेका जिल्ला सभापतिहरुको पारो पुरै माइनसमा पुग्यो। भेलामा उपस्थित कास्की जिल्ला सभापति कृष्ण केसीका अनुसार, सभापति देउवाले सुरुमै आफूलाई सभापतिहरुको भेलामा किन नबोलाएको भनि प्रश्न गरेका थिए। ‘हाम्रै पार्टीका जिल्ला सभापतिहरु हाम्रै कार्यालयमा भेला हुँदा आफू र अन्य पदाधिकारीलाई पनि बोलाएको भए हामी पनि त्यसमा सहभागी भएर सबैका कुरा पनि सुन्न तथा आफ्ना कुरा पनि भन्न र प्रष्ट्याउन पाउँने थियौँ,’ केसीले सभापति देउवाको भनाई उद्रीत गर्दै भने। सभापति देउवाले मनोवैज्ञानिक ढंगले जिल्ला सभापतिहरुलाई प्रभाव पारेपछि उनीहरुले पनि उक्त परामर्श बैठक आफुहरुले आयोजना नगरी अरु नेताले नै गर्नेगरी बोलाएको र त्यसमा सबै नेताहरु होलान् भन्ने लागेपनि सभापति र अन्य पदाधिकारीहरु उपस्थित नभएको जवाफ दिएका थिए। सभापति देउवाले आफूले पार्टीभित्र आपसी सल्लाह र सहमतिकै आधारमा अघि बढ्न हदैसम्मको प्रयास गर्दा पनि वार्ता विग्रीएर विवाद बढेकोमा आफू गम्भीर भएको बताएका थिए। वर्तमान स्थितिमा पार्टीभित्र एकता कायम गरी सबै एक भएर अघि नबढेर गुट, उपगुट बनाउँदै अघि जाँदा त्यसले पार्टीलाई पनि बलियो नबनाउँने र मुलुकलाई पनि गम्भीर हानी गर्ने तर्फ सजग हुनु पर्ने धारणा उनले राखेका थिए। सभापति देउवाले बोल्ने क्रममा सभापतिहरुमध्येबाट बिचबीचमा प्रश्न स्वरुप महाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यता वितरणको विषय राखेका थिए। जवाफमा देउवाले पार्टीभित्र उत्पन्न विवादको विषयमा वार्ताको माध्यमबाट टुंगो लगाउन कार्यदल बनाएको र त्यसले अधिकतम् विषयमा सहमति कायम गरिसकेको अवस्थामा एकाएक वार्ता विथोलिएपछि आफूले महाधिवेशनको सुनिश्चितताका लागि विधानमा रहेका केही अप्ठ्यारा दफा निलम्बन गरेको जानकारी दिएका थिए। साथै उनले महाधिवेशनको कार्यतालिका अथवा अन्य कुनै पनि विषयमा व्यवहारिक अथवा प्राविधिक त्रुुटी भएको भए त्यी कुरा सच्याएर जाने सवालमा आफू असहमति नभएको पनि प्रष्ट्याएका थिए। त्यसपछि असन्तुष्ट पक्षसँग सभापतिको तर्फबाट वार्ताका लागि खटिएका उपसभापति विमलेन्द्र निधि, अर्का उपसभापति विजयकुमार गच्छदार, पूर्णबहादुर खड्काले पनि आफ्ना कुराहरु राखेका थिए। विशेषगरी वार्ता टोलीका सदस्य निधिले सबै कुरा छलफल र सहमतिका आधारमा जाने क्रममा नेविसंघ र तरुण दलको विषयमा पार्टी एकीकरण गरेर आएका विजयकुमार गच्छदार र तेस्रो धारका कृष्णप्रसाद सिटौला पक्षलाई पनि मिलाउने क्रममा महामन्त्रीको संख्या बढाउने प्रस्तावमा वरिष्ठ नेता पौडेलले असहमति जनाउँदै विधान भन्दा बाहिर जान हुँदैन भनि अडान लिएको जानकारी दिए। ‘सबै विषयमा छलफल र सहमतिका आधारमा टुंग्याएर पनि अन्त्यमा वार्ता के कति कारणले विग्रयो भन्नेमा म नै आश्चर्यमा परेँ,’ निधिको भनाई उल्लेख गर्दै अर्का जिल्ला सभापतिले भने। साथै आफूहरु सहमतिकै आधारमा १४औं महाधिवेशनको तिथि, मिति र कार्यतालिका घोषणा गर्दै उक्त निर्णयलाई ऐतिहासिक बनाउँ भन्ने पक्षमा रहेको बेला एकाएक वातावरण विथोलिएर असन्तुष्ट पक्षको बैठक बहिष्कार नै ऐतिहासिक हुन पुगेको भनाई निधिले राखेका थिए। सभापति र उपसभापति लगायतका पदाधिकारीहरुसँग झण्डै साढे दुई घण्टासम्म छलफल गरेका जिल्ला सभापतिहरुले बुढानिलकण्ठबाट बाहिरिने क्रममा सभापतिले पनि आफ्नो पार्टीका जिल्ला सभापतिहरु परिवारकै सदस्यहरु जस्तो गरी व्यवहार गरेको र आफूहरुलाई पनि आफ्नो अविभावकको सामु खुलस्त कुरा राख्न पाउँदा सबै खुशी भएर फर्किएको प्रतिक्रिया सभापति केसीले दिए। सभापति देउवासँगको भेटपछि केसीले भने, ‘भलै हिँजो हामी कुनै पक्ष वा विपक्षमा थियौँ होला तर, आज हामी पार्टीका जिम्मेवारी व्यक्ति हौँ र सभापति देउवा हाम्रो पार्टीको नेतृत्वकर्ता हो। उहाँले अब यो अन्यौल र विवादको स्थिति धेरै लम्बिन दिनु हुन्न। तत्काल सहमतिको प्रयास गरी सबै विवाद संयुक्त बैठकबाट टुंगो लगाएर अघि बढ्नु होला भन्ने आश्वासन उहाँसँगको बसाइबाट पायौँ।’ छलफलका क्रममा जिल्ला सभापतिहरुले मौसमको प्रतिकूलतालाई ख्याल गरी मंसिरमा गरिने भनिएका कतिपय हिमाली जिल्लाको अधिवेशन प्रभावित हुन सक्ने तथा सदस्यता वितरणको प्रक्रियामा सबै भातृ संस्थाले वितरण गर्न पाउने कुराले पार्टीमा व्यथिति ल्याउने विचार राखेका थिए। जवाफमा सभापति र अन्य पदाधिकारीहरुले यसबारे पनि विचार गरेर जान सकिने आश्वासन दिएका थिए। करिब २५ जना जति सभापतिहरु उपस्थित भएको छलफलमा असन्तुष्ट पक्षका नेताहरुको कुरा सुनेर सभापति देउवाले पार्टीभित्र ज्यादती गरेको महसुस गरेपनि सभापति देउवा र अन्य पदाधिकारीसँगको छलफल पश्चात कमीकमजोरी र खराबी अर्को पक्षको पनि भएको र यसमा महाधिवेशनकै रन्कोले यस्तो भएको हुन सक्ने बुझाईमा पुगेका थिए।
प्रकाशित मिति: सोमबार, पुस २१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update