हिमाल दैनिक
असन्तुष्ट पक्षले डाकेको जिल्ला सभापतिहरुको निश्कर्षः विधान वमोजिम पार्टी चलाउ, भागवण्डाकाे राजनीति छोड
82147547_10157993671587329_9045036774157451264_n
नेपाली कांग्रेसभित्र उत्पन्न चरम विवादकोबीच असन्तुष्ट पक्षले बोलाएको जिल्ला सभापतिहरुको तीन दिने भेलाले दुबै पक्षलाई वार्ता र सहमतिको माध्यमबाट अघि बढ्न सुझाव दिएको छ। सभापति शेरबहादुर देउवाले पटक पटक बैठक स्थगित गर्दै सहमतिका साथ बैठक अघि बढाउन गरेको प्रयासका बाबजूद वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष अनुपस्थित भएपछि गत पुस ११ गते पार्टीको कार्यकाल एक वर्ष थप गर्दै महाधिवेशनको कार्यतालिका पारित गरेपछि त्यसको विरुद्धमा पौडेलसँगै कृष्णप्रसाद सिटौला समूहले जिल्ला पार्टी सभापतिहरुको भेला बोलाएको थियो। सोमबारदेखि पार्टी मुख्यालय सानेपामा भएको परामर्श बैठकमा बोल्ने अधिकांश सभापतिहरुले पार्टी विधि विधानसम्मत ढंगले चलाउन र भागवण्डाको राजनीति छोड्न पर्ने दबाब दिएका थिए। भेलाको अन्तिम दिन सभापतिहरुले परामर्शको निचोडसहितको ज्ञापनपत्र तयार पारेको र उक्त ज्ञापनपत्र बिहिबार सभापति देउवालाई बिहान भेटेर दिने जानकारी वर्दियाका सभापति संजय गौतमले हिमाल दैनिकलाई बताए। परामर्शका क्रममा अधिकांश जिल्ला सभापतिहरुले पार्टी विधान र विधिसम्मत ढंगले चल्नु पर्छ र यसका लागि सभापतिले पुस ११ गतेको महाधिवेशन कार्यतालिका सच्याएर गरी सहमतिकै आधारमा निश्पक्ष र पारदर्शी तबरले महाधिवेशन सम्पन्न गराउनु पर्ने सुझाव राखेको गौतमले बताए। साथै उनीहरुले असन्तुष्ट पक्षलाई पनि पार्टीभित्र हरेक निकायमा भागवण्डाको राजनीति नगर्न र पार्टीलाई बचाएर जनताको भरोसाको केन्द्र बनाउन सुझाव दिएको गौतमले जानकारी दिए। वरिष्ठ नेता पौडेल र सिटौलाले देशभरीकै सभापतिहरुलाई सभापति देउवाको विरुद्ध दबाब दिने उद्देश्यले परामर्श भेला बोलाएपनि सभापति देउवाले उक्त भेलामा उपस्थित तथा राजधानीमा उपलब्ध सबै जिल्ला सभापतिहरुलाई बिहिबार बिहान आफ्नो निवास बुढानिलकण्ठमा ब्रेकफाष्टसहितको सामूहिक भेटघाटको निम्ता दिएका छन्। गौतमका अनुसार, सभापतिहरुको भेलाले तयार पारेको निश्कर्षसहितको ज्ञापनपत्र भोलि सभापतिलाई भेटेर सोही छलफलका क्रममा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। सभापतिहरूकाे साथ र समर्थनले थप उत्साहित भयाैँः पौडेल असन्तुष्ट पक्षका नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरुसँगको परामर्शका क्रममा उनीहरुबाट पाएको साथ र समर्थनले आफूहरुलाई थप उत्साहित बनाएको दाबी गरेका छन्। पार्टी केन्द्रीय कार्यसमितिमा आफूहरुको अनुपस्थितिमै सभापति शेरबहादुर देउवाले पुस ११ गते गरेका निर्णयहरु सच्याउन दबाब दिने उद्देश्यले राजधानीमा बोलाइएको जिल्ला सभापतिहरुसँगको तीन दिन लामो परामर्शको अन्तिम दिन बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनमार्फत पौडेलले यस्तो धारणा राखेका हुन्। पौडेलले आफूहरुले ७५ जिल्लाकै सभापतिहरुलाई परामर्शका लागि बोलाएकोमा करिब दुई तिहाई जिल्ला सभापतिहरु उपस्थित भएर आफूहरुले राखेको चासो र चिन्ताको पक्षमा साथ र समर्थन दिँदै पार्टीलाई विधि, विधान र न्यायसंगत ढंगले चलाउनु पर्ने सुझाव दिएर आफूहरु थप उत्साहित भएको बताए। उनले बहुमतका आडमा पार्टीको बिधि पद्धती र बिधान मिच्ने काम भएको भन्दै यसलाई सच्चाउनुको बिकल्प नभएको सबै सहभागी सभापतिहरुको धारणा रहेको पनि बताए। ‘पार्टीलाई विधिसंगत र न्यायसंगत ढंगले चलाउने कुरामा नैतिक समर्थन र ११ गतेको निर्णय सच्याउने कुरामा थप बल प्राप्त भएको छ। सदस्यताको वितरण विषयदेखि मंसिरसम्म पार्टीलाई अलमल्याएर मंसिरपछि सबै कार्यक्रम खाँदिएर अल्मल्याउने काम भएको छ। विधानका धारा र नियम विपरित निलम्बन गर्ने काम भएको छ,’ उनले भने। यो कुरा सच्याएर अघि बढ्न तथा पार्टीलाई सुधारेर देशको पहिलो पार्टी बनाउने र देशलाई नै उद्धार गरी देशलाई भ्रष्टाचार मुक्त र देशलाई विकृत मुक्त पार्ने अभियानमा आफूहरु लाग्ने पनि उनले बताए। सभापतिहरुको दुई तिहाई उपस्थितिमा सुझाव आएको बताएका पौडेलले केन्द्रीय कार्यसमितिको बहुमतको निर्णयबारे सोधिएको प्रश्नमा भने बहुमत, अल्पमत भन्दा पनि बहुमतले विधिसम्मत ढंगले चलाउनु पर्नेमा जोड दिए। साथै उनले पार्टी विधानभित्र सहमतिकै आधारमा चल्ने परम्परा र भावनामाथि प्रहार भएको आरोप सभापतिमाथि लगाउँदै जिल्ला सभापतिहरुले भोलि सभापति देउवासँग आफ्ना कुरा राख्ने पनि बताए। सभापति देउवाले जिल्ला सभापतिको सुझाव नमाने के हुन्छ भन्ने अर्को प्रश्नको जवाफमा पौडेलले आफूहरु यीनै कुराहरु लिएर कार्यकर्तामा जाने पनि बताए। त्यस्तै काग्रेस नेता कृष्णप्रसाद सिटौलाले सभापति देउवाले विगतमा सहमतिका आधारमा तय हुने गरेको महाधिवेशनको कार्यतालिका बहुमतकै आधारमा गरेर त्यो परम्परा तोडेको आरोप पनि लगाए। साथै उनले वर्तमान असहजताको अन्त्यका लागि सभापति देउवाले नै पहल गरी समाधानको बाटो निकाल्नु पर्ने धारणा राखे। भेलालाई सम्बोधन गर्दै महामन्त्री शशांक कोइरालाले सभापति देउवा पुस ११ गते गरेका निर्णय सच्याउन तयार रहेको र नभए आफूहरु अर्को कदम चाल्न बाध्य हुने प्रतिक्रिया दिए। दिनुभयो । १३औं महाधिवेशनमा पौडेलविरुद्ध छुट्टै समूह बनाएर सभापतिको उम्मेदवार बनेपछि लामो समयसम्म परस्पर विरोधी जस्ता बनेका पौडेल र सिटौला बुधबार सभापतिको भेला पश्चात एकै स्थानमा पत्रकार सम्मेलन गर्न उपस्थित थिए। आगामी महाधिवेशनमा अब तपाईहरुको एकता कायमै रहन्छ भन्ने प्रश्नको जवाफमा पौडेलले केही नबोलेपनि सिटौलाले त्यो कुरा आगामी दिनमा आउने परिस्थितिमा निर्भर रहने प्रतिक्रिया दिए।
प्रकाशित मिति: आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update