हिमाल दैनिक
पार्टीभित्र उत्कर्समा पुगेको गुटबन्दी र आन्तरिक विवादका बाबजूद प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यका लागि हुन लागेको निर्वाचनमा उम्मेदवारहरुको सूचि तय गरेको छ। सभापति शेरबहादुर देउवाले पछिल्लो समय बहुमतको आडमा आफ्नो गुटको मात्रै पक्षपोषण गरेको आरोप लगाउँदै पार्टी केन्द्रीय कार्यसमिति बैठकमा नगई समानान्तर रुपमा गुटको बैठक चलाउँदै आएको असन्तुष्ट रामचन्द्र पौडेल पक्षले पनि उक्त चुनावमा आधा हिस्सा पाएपछि पार्टीले उम्मेदवारको सूचि टुंग्याएको हो। कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलका अनुसार, अहलेसम्म कर्णाली प्रदेशका दुई उम्मेदवारबाहेक बाँकी ६ वटा प्रदेशका १४ जना उम्मेदवारहरुको नामावली टुंगो लगाएको छ। यसरी उम्मेदवार चयन गर्नुपूर्व निर्वाचनमा सफलताको झिनो आशा रहेको प्रदेश नम्बर २ मा चार सिटका लागि हुने निर्वाचनमा भर्खरै सत्ताबाट बाहिरिएको उपेन्द्र यादवको समाजवादी पार्टीसँग चुनावी तालमेल गरी दुई दलले दुई/दुई सिटमा मिलेर उम्मेदवारी दिने सहमति कांग्रेस र समाजवादी पार्टीबीच भएको छ। मधेस केन्द्रित अर्को दल राष्ट्रिय जनता पार्टी, नेपालले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग दुई बुँदे सहमति गरी चुनावी तालमेल गरेपछि सत्ताबाट पाखा लागेका उपेन्द्र यादव प्रमुख प्रतिपक्षी दल कांग्रेसँग तालमेल गर्दै अघि बढ्न तयार भएका हुन्। यसरी दुई नम्बर प्रदेशका चारमध्ये महिला र अल्पसंख्यंक कोटामा हिस्सा पाएको कांग्रेसले त्यहि दुई सिटमा पनि आन्तरिक गुटगत आधारमा (देशभरी नै ८/८ जना) उम्मेदवार बनाउन सभापति देउवा तयार भएपछि असन्तुष्ट पक्षले सबै स्थानमा आफ्नो हिस्सामा रहेको सिटमा उम्मेदवारको नाम दिन तयार भएको हो। यसरी उक्त प्रदेशमा सभापति देउवा पक्षबाट महोत्तरीकी नगिना यादव महिला उम्मेदवार तथा पौडेल पक्षबाट धनुषाका भोला पंजीयार अल्पसंख्यकबाट उम्मेदवार बनाउने निर्णय भएको हो। त्यसैगरी प्रदेश नम्बर १ मा निरबहादुर विश्वकर्मा, पाँचथर (दलित), मीना पुलामी मगर, सुनसरी, (महिला) र राजेन्द्र घिमिरे, झापा (अन्य) समूहको उम्मेदवार बन्ने भएका छन्। प्रदेश नम्बर ३ मा हरिशरण श्रेष्ठ, सिन्धुपाल्चोक, (अन्य) र छलिकुमारी शर्मा उपाध्याय, चितवन, (महिला), गण्डकी प्रदेशमा सूर्यप्रसाद रेग्मी, स्याङ्जा, (अन्य), विमला गौचन म्याग्दी, (महिला) तर्फं रहेका छन्। प्रदेश ५ मा आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डे, अर्घाखाँची, (अन्य), गिरिजा न्यौपाने, दाङ, (महिला) र मेराज हलुवाई, बाँके (अल्पसंख्यक÷आपङ्ग) तर्फका उम्मेदवार बन्दैछन्। सुदूरपश्चिम प्रदेशबाट प्रताप ठगुन्ना, बैतडी, (अन्य) र तुलसी देवकोटा, कैलाली (महिला) रहेका छन् भने कर्णाली प्रदेशको दुई सिटका लागि उम्मेदवार खोज्ने क्रम जारी छ। यसैबीच सत्तारुढ नेकपाकै पदचाप पछ्याउँदै प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि गत आम चुनावमा समानुपातिक तर्फको बन्द सूचिमा रहेका उम्मेदवारहरुलाई राष्ट्रिय सभा सदस्य पदको उम्मेदवार बनाउने भएको छ। निर्वाचन कानूनले समानुपातिक अथवा प्रत्यक्ष तर्फ चुनाव लडेको व्यक्ति अर्को तर्फ जान नमिल्ने मान्यता बनाएको भएपनि सत्तारुढ नेकपाले आफ्ना तीन उम्मेदवारको नाम समानुपातिक सूचिबाट हटाएर राष्ट्रिय सभा सदस्य पदका लागि उम्मेदवार बनाएपछि कांग्रेसले पनि त्यहि प्रक्रिया अपनाएको छ। यसरी कांग्रेसले समानुपातिक सूचिमा प्रतिनिधि सभा तर्फ महोत्तरीकी नगिना यादव तथा प्रदेश तर्फ गण्डकी प्रदेश सभामा समानुपातिक सूचिमा रहेकी विमला गौचनको नाम पहिले सूचिबाट हटाउन लगाएर राष्ट्रिय सभा सदस्य पदको उम्मेदवार बनाउने निर्णय गरेको हो। यसैबीच अपरान्ह ४ बजेपछि कांग्रेसले कर्णाली प्रदेशका २ उम्मेदवारकाे पनि टुंगाे लगाएकाे छ। जसमा डिल्लीराम पाठक (सुर्खेत) अन्य र सावित्री पौडेल (सुर्खेत) महिला रहेका छन्।
प्रकाशित मिति: बुधबार, पुस १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update