हिमाल दैनिक
आफ्नै पूर्वसहकर्मी नेता बाबुराम भट्टराईले पराजित गरेर सांसद बन्ने धोको अधुरै भएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभामै भएपनि सांसद बनिछाड्ने भएका छन्। गत आम निर्वाचनमा गोरखामा तत्कालिन नयाँ शक्तिका नेता भट्टराईसँग पराजित भएका नेता श्रेष्ठलाई सत्तारुढ नेकपाकोे सचिवालय बैठकले गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्य पदको उम्मेदवार बनाउने निर्णय गरेपछि उनको सांसद बन्ने धोको पूरा हुन लागेको हो। राष्ट्रियससभाको आशन्न निर्वाचनका लागि आफ्ना उम्मेदवार टुङ्गो लगाउन शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न नेकपाको सचिवालय बैठकले निर्वाचनका लागि उम्मेदवार चयन गरेको पार्टीका प्रवक्ता श्रेष्ठले जानकारी दिए। आगामी माघ ९ गते हुने निर्वाचनको मनोनयन दर्ता प्रक्रिया सुरु हुनु दुई दिनअघि मात्रै नेकपाले श्रेष्ठसहित सबै प्रदेशका उम्मेदवारहरुको टुंगो लगाएको हो। यसअघि पार्टी नेता बामदेव गौतमलाई पनि राष्ट्रिय सभामा जान नेतृत्वले दिएको सुझावप्रति नेता गौतमले आफू संविधान संशोधन गरी राष्ट्रिय सभाबाट पनि प्रधानमन्त्री बन्न सक्ने प्रावधान राखेमात्रै उक्त सदनमा जाने स्पष्ट अडान सार्वजनिक गरेका थिए। प्रवक्ता श्रेष्ठका अनुसार प्रदेश नं १ मा महिलातर्फ इन्दु गौतम, दलितमा गोपी अक्षामी र अन्यमा देवेन्द्र दाहाललाई चयन गरेको छ। यसैगरी प्रदेश नं २ मा महिलामा तुल्सा दाहाल, दलितमा राधेश्याम पासवानलाई चयन गरेको छ। प्रदेश नं २ मा नेकपाले दुई स्थानका लागि राष्ट्रिय जनता पार्टी (राजपा)सँग सहकार्य गर्ने सहमति गरेको छ। बैठकले प्रदेश नं ३ मा महिलामा गङ्गा बेल्वासे र अन्यमा बेदुराम भुसाल, गण्डकी प्रदेशमा अन्यमा नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपाने, प्रदेश नं ५ मा महिलामा विमला घिमिरे, अपाङ्गता÷अल्पसङ्ख्यकमा जगप्रसाद शर्मा, अन्यमा गोपाल भट्टलाई उम्मेदवार तय गरेको छ। यसैगरी कर्णाली प्रदेशमा अन्यतर्फ मायाप्रसाद शर्मा, महिलामा सुमित्रा विसी र सुदूरपश्चिम प्रदेशमा अन्यतर्फ तारामान स्वाँर र महिलामा शारदा भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको श्रेष्ठले बताए। निर्वाचन आयोगले सो निर्वाचनका लागि यही पुस २० गते उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यतालिकता तय गरेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस १५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update