विसं २०७४ को स्थानीय निकायको निर्वाचनमा कोहलपुर नगरपालिका–६ का मतदाताले निर्वाचित जनप्रतिनिधि गुमाए । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै खुशी भएका वडावासीलाई निर्वाचित वडाध्यक्ष गुमाएपछि वडाबाट प्राप्त गर्ने सेवा सुविधा लिन झमेला भइरह्यो । वडाध्यक्षको निधनपछि आगामी मङ्सिर १४ गते सो वडामा उपनिर्वाचन हुँदैछ ।
उपनिर्वाचनको समयमा नजिकिँदै गर्दा जनप्रतिनिधिको रिक्ततालाई आफ्नो पक्षमा पार्न राजनीतिक दल र तीनका उम्मेद्वार वडाका टोलटोलमा पुग्न थालेका छन् । वडा नं ६ मा तीन ठूला दल सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीसँगै नेपाल मजदूर किसान पार्टी तथा समाजवादी पार्टीले मतदाता रिझाउन विभिन्न कार्यक्रम लिएर चुनावी चहलपहल बढाइरहेका छन् ।
विसं २०७५ मङ्सिर ९ गते वडाध्यक्ष रामसोहन थारुको निधनपछि रिक्त पदका लागि सो वडामा हुन लागेको उपनिर्वाचनमा विभिन्न कार्यक्रम गर्दै उम्मेदवारले मतदातालाई रिझाउने प्रयास गरिरहेका छन् । मतदातालाई आफ्नो पकडमा पार्न राजनीतिक दल भेला, अन्तक्र्रिया र प्रचारमा जुटेका छन् । दलका सम्पर्क कार्यालयमा नेता तथा कार्यकर्ताको भीड छ ।
सत्तारुढ पार्टी र सबैभन्दा ठूलो दल भएकाले नेकपाले तामझामसहित सक्रियता देखाइरहेको छ । नेकपा नगर कमिटीकी अध्यक्ष वसन्ती अधिकारीले भनिन्, “सबै भ्रातृ तथा शुभेच्छुक सङ्गठनलाई सबै तहसम्म पु¥याउन र जनमत नेकपाका पक्षमा ल्याउन खटिइरहेका छौँ, हामीले टोलटोल, गाउँगाउँसम्म कार्यक्रम गरिरहेका छौँ ।”
घरदैलो अभियानसँगै नेपाली काङ्ग्रेसले पनि प्रचारका कार्यक्रमलाई तीव्रता दिइरहेको नगर सभापति बलराम शर्माले बताए । “विगतमा पनि हामीले नै जितेका हौँ, यसपटक पनि हामी निर्वाचनलाई आफ्नो पक्षमा पार्छौं, हाम्रो जीत निश्चित छ”, नगर सभापति शर्माले भने । काङ्ग्रेसले पनि मतदातालाई रिझाउन टोलटोलमा चुनावी गतिविधिलाई तीव्रता दिएको छ ।
नेकपा र काङ्ग्रेसबीच कडा प्रतिस्पर्धा हुने तथा त्यही बीचबाट आफ्नो जित निकाल्ने दाउमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि चुनावी अभियानलाई तीव्र बनाएको राप्रपाका केन्द्रीय सदस्य ऋषिराज देवकोटाले बताए । जिल्लामै एउटा मात्र वडामा उपनिर्वाचन हुन लागेकाले सबै दलको ध्यान उक्त वडामै गएको छ । सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले थारु समुदायबाट उम्मेदवार उठाएका छन् भने राप्रपाले पहाडी समुदायबाट उम्मेदवार छनोट गरेको छ ।
थारु मतदाता धेरै रहेको सो वडा भएकाले दुई ठूला दलले थारु समुदायबाट उम्मेदवार बनाउँदा थारु समुदायको मत विभाजन हुने र त्यसको फाइदा राप्रपालाई हुने अनुमान पनि गरिएको छ । तीन ठूला दलसँगै नेपाल मजदूर किसान पार्टी र समाजवादी पार्टीले पनि चुनावी अभियान चलाइरहेका छन् ।
सो वडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट रामशरण थारु, नेपाली काङ्ग्रेसबाट श्रीकृष्ण थारु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्रीधर सुवेदी, नेपाल मजदूर किसान पार्टीबाट दीपालक्ष्मी हमाल र समाजवादी पार्टीबाट शुभाखर पोख्रेल चुनावी मेदानमा हुनुहुन्छ । उक्त वडामा अहिले दुई हजार २६ मतदाता छन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय