हिमाल दैनिक
कास्की जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा शनिबार सम्पन्न प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनमा यसअघिको भन्दा झण्डै ५ प्रतिशत मत कम खसेको अनुमान छ। शनिबार भएको उपनिर्वाचनमा कुल मतदाता संख्याको करिब करिब ६५ प्रतिशत हाराहरीमा मात्रै मत खसेको जानकारी प्राप्त भएको निर्वाचन आयोगको कार्यालय कास्कीले जनाएको छ। कास्की २ नम्बर क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता छन्। मतदान सुरु भएको केही समयमै पोखराको नयाँ बजार, अर्मला र भरतपोखरीमा एकै समयमा तीन वटा र अपरान्ह बाटुलेचौरमा अर्को वम विष्फोट भएपनि कतिपय मतदान केन्द्रमा अपेक्षाकृत मत कम खसेको अनुमान छ। यसअघि ०७४ साल मंसिरमा सम्पन्न निर्वाचनमा ७० हजार ६ सय ५१ मतदाता रहेकोमा ४९ हजार ९ सय १३ अर्थात ७०.६ प्रतिशत मत खसेको थियो। देशका केही स्थानमा मात्रै भएको उपनिर्वाचनमा पनि राज्यले पर्याप्त सुरक्षा व्यवस्था कायम गराउन नसकेको अथवा नियतवस आफ्ना मतदाता बढि भएको स्थानमा विष्फोटन गराएको आक्षेप कांग्रेसका कास्की जिल्ला सभापति कृष्ण केसीले लगाएका छन्। यसैबीच, मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले आजै साँझसम्ममा सबै मतपेटिका संकलन गरी साझैदेखि मतगणना कार्य सुरु गर्ने तयारी गरिरहेको निर्वाचन कार्यालयका सूचना अधिकृत रुद्र न्यौपानेले हिमाल दैनिकलाई बताए। मतगणन कार्य सुरु गनुृपूर्व मतपेटिका संकलन भएलगत्तै साँझ ८ बजेका लागि सर्वदलीय बैठक बोलाइएको छ। मतगणनाका लागि निर्वाचन कार्यालयले शहिदचोकस्थित जिल्ला समन्वय समितिको कार्यालय रहेको भवनमा सबै तयारी पूरा गरेको छ। न्यौपानेका अनुसार, मिल्यो भने आजै साँझ दुई स्थानमा मत गणना गर्नेगरी बत्तीको व्यवस्थासँगै कडा सुरक्षाघेराभित्र मतगणना हुने छ। यसका लागि तारको जालीले गणनास्थल घेरिएको छ भने त्यसको थप व्यवस्थापनका लागि सिसि क्यामेरा पनि जडान भइसकेको छ।
प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update