कास्कीको दुइ नम्बर क्षेत्रमा भइरहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतदानमा मतदातालाई प्रभावित पार्न श्रंखलाबद्ध बम विष्फोटन भइरहेको छ।
पछिल्लो समय प्राप्त जानकारी अनुसार, पोखरा महानगरपालिका वडा नम्बर १६ को चण्डिका प्रावि मतदान केन्द्र नजिक बम विष्फोट भएको बताइएको छ।
कास्की नेपाली कांग्रेस सभापति कृष्ण केसीले बिहान सबेरै वडा नम्बर ९ स्थित नयाँबजार, वडा नम्बर १६ कै अर्मला र भरतपोखरी ३३ मा बम विष्फोटन भएकोमा अपरान्ह १ बजेतिर फेरि बम विष्फोट हुँदा मतदातामा त्रासको वातावरण राज्यले पैदा गरेको आरोप लगाए।
उनले भने, ‘हाम्रा मतदाताहरुको बाहुल्यता भएको मतदान केन्द्र आसपासमा बम विष्फोटन गराएर मतदातालाई त्रसिद पार्ने राज्यकै योजनामा यस्ता घटना भएको आशंका हामीलाई लागेको छ।’
एउटै निर्वाचन क्षेत्रका चार वटा स्थानमा बम विष्फोटन हुँदा पनि कुनै भौतिक तथा मानवीय क्षति भने भएको छैन।
अपरान्ह ३ बजेसम्मको जानकारी अनुसार, अहिलेसम्म करिब ६० प्रतिशत मत खसेको जानकारी प्राप्त भएको छ।
प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय