कास्कीको दुइ नम्बर क्षेत्रमा भइरहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका क्रममा मतदान अधिकृतको त्रुटिका कारण हस्ताक्षर विनाको मत खसेको समाचार आएको छ।
पोखरा महानगरपालिकाको वडा नम्बर ३३ को भरतपोखरीस्थित शान्ति उदय मावि मतदान केन्द्रमा मतदान अधिकृतले हस्ताक्षर नगरेको मत खसेको जानकारी पाएपछि उम्मेदवारका प्रतिनिधि र निर्वाचन अधिकृतबीच विवाद भएको थियो।
विवादका कारण मतदान केही समय प्रभावित भएपनि सर्वदलीय सहमति पश्चात यदि कुनै मत त्यस्तो भेटिएमा त्यसको गणना हुने भन्ने सहमतिको आधारमा मतदान कार्य सुचारु भएको स्थानीय प्रतिनिधिले बताएका छन्।
करिब १५ सय मतदाता रहेको उक्त मतदान केन्द्रमा अहिलेसम्म करिब एक हजार मत खसेको जानकारी प्राप्त भएको छ।
सोही मतदान केन्द्रमा बिहान ९ बजे पुगेर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी थिइन्।
मुख्य निवार्चन अधिकृतकाे कार्यालयका अनुसार, अपरान्ह २ बजेसम्म उक्त निर्वाचन क्षेत्रमा करिब ५० प्रतिशत मत खसेकाे जानकारी प्राप्त भएकाे छ।
प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय