उपनिर्वाचनको मिति आउनु एक दिन बाँकी रहँदा सरकारले आचार संहिताको उलंघन गर्दै कास्की जिल्लाको प्रहरी नायव उपरिक्षक (डिएसपी)को सरुवा गरेको छ।
कास्की निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन आउनु दुई दिनअघि पोखराको बैदाममा रहेका काेमल शाहलाई बुधबार सार्क गेमको तयारी हेर्ने जिम्मा दिएको भन्दै उनको स्थानमा बिहिबार उनको ठाउँमा पर्वतबाट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विश्वासपात्र विनोद सुवेदीलाई ल्याएको छ।
शनिबार हुने निर्वाचनको प्रचार प्रसारका लागि मौन अवधि सुरु भइसकेको अवस्थामा पनि सरकारले निर्वाचन आयोगको आचार संहिता विपरित प्रहरी प्रमुखको सरुवा गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले घोर आपत्ति प्रकट गरेको छ।
प्रहरी प्रमुखको सरुवाको विषयमा प्रमुख निर्वाचन आयुक्तको कार्यालय पोखराका एक अधिकारीले दिएको जानकारी अनुसार, डिएसपी सरुवाको विषयमा आयोगले पनि बाहिरबाट सुनेको तर आधिकारिक रुपमा कुनै अनुमति वा सहमति नलिइकन गरिएको हो।
आयोगका एक कर्मचारीले नाम उल्लखे नगर्ने सर्तमा भने, ‘हामीले पनि हिँजो डिएसपी सरुवा भयो भन्ने सुन्यौँ। यदि त्यो हो भने यो आचार संहिता विपरित छ।’
कास्की कांग्रेस सभापति कृष्ण केसीले डिएसपी सरुवाको विषयमा हिमाल दैनिकसँग कुरा गर्दै सरकारी पक्षले निर्वाचनलाई प्रभावित पार्न आचार संहिता विपरित सुरक्षा निकायको प्रमुखको सरुवा गरेको आरोप लगाए।
उनले भने, ‘सरकार र सत्तारुढ नेकपा निर्वाचनलाई युनिफर्म लगाएरै धाँधलीमा उत्रियो। यो घार आपत्तिजनक कुरा हो।’
केही महिना अघिमात्रै कास्कीको बैदामस्थित प्रहरी कार्यालयमा सरुवा भएर गएका डिएसपी शाहले निर्वाचन हुने क्षेत्रको अधिकांश भागमा हुन सक्ने निर्वाचन आचार सहिंता विपरितका गतिविधिहरु नियन्त्रणमा कडा कदम चालेपछि उनको सरुवा गरी आफ्नो दल निकट डिएसपीलाई चुनावको अघिल्लो दिन ल्याएर वर्दीकै आडमा सरकार धाँधली गर्न उत्रियो।’
एकातिर नेत्रविक्रम चन्द समूहले राज्यका विरुद्ध निर्वाचन विराधी गतिविधिहरु तिब्र पार्दै गइरहेको बेलामा राज्यले सुरक्षा व्यवस्थामा संवेदनशील ढंगले सबैलाई मिलाएर जानु पर्ने अवस्था रहेकोबेला निर्वाचन हुने क्षेत्रको सम्पूर्ण जानकारी भएका प्रहरी अधिकृतलाई अन्यत्र खटाएर सुरक्षा अवस्था अन्यौल बनाएर आफूखुखी धाँधली गर्ने रणनीति अपनाएको सभापति केसीले आरोप लगाए।
प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय