चुनावको मिति नजिकिंदै गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि केन्द्रीय नेतादेखि स्थानीय कार्यकताहरु कास्कीको निर्वाचन क्षेत्र नम्बर २ का मतदाताका घरघर पुगेर आफ्नो दलको उम्मेदवार खेमराज पौडेलकोे पक्षमा मत माग्न व्यस्त छन्।
विगत तीन, चार दिन यता केन्द्रीय नेताहरुको पोखरामा ओइरो नै लागेपछि कास्की कांग्रेसलाई नेताहरुको स्वागत मात्र होइन उनीहरुका लागि प्रचार प्रसारको कार्यक्रम तय गर्न हम्मे हम्मे भएको छ।
कतिपय नेताहरु सकेसम्म उम्मेदवारसहित त नभए स्थानीय प्रतिनिधि र कार्यकर्ताको साथमा गाउँ, गाउँसम्म पनि पुगेर मतदाता समक्ष कांग्रेस उम्मेदवार खेमराजको राजनीतिक जीवन र उनको समर्पणभावको महिमा गाउँदैछन्।
चुनावी प्रचारका लागि शुक्रबार बिहानै सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइरालासहितका नेता पोखरा आउनासाथ दिनभर कोणसभा, र्यालीदेखिआन्तरिक ंभेटघाटमा व्यस्त रहे।
[caption id="attachment_78162" align="alignnone" width="1920"] तस्बिर: कास्कीको पोखरास्थित चिप्लेढुङामा उपनिावर्चनका लागि चुनावी प्रचारप्रसार अभियानमा नेका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेता ।[/caption]
उनीहरुले शुक्रबार साँझ चिप्लेढुंगाबाट सभागृहचोकसम्मको र्याली सहभागिता जनाए भने शनिबार बिहानै बाटुलेचौरमा आयोजित सभालाई सम्बोधन गरे।
केन्द्रीय प्रतिनिधिका रुपमा आएका नेता मीनेन्द्रप्रसाद रिजालले केन्द्र र जिल्लातहका नेताहरुबीच समन्वय गर्दै प्रचार प्रचारलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने गृहकार्यमा व्यस्त रहेका छन्।
उता, नेता शेखर कोइराला पनि विगत तीन दिनदेखि कहिले अर्मलाकोट त कहिले कृस्तीनाच्ने चौरका कोणसभा र घरदैलोमा सहभागी भएर वर्तमान सरकारको अधिनायकवादी सोचमा लिएको गलत बाटो सच्याउन पनि कांग्रेसका उम्मेदवारलाई मत दिन आग्रह गरे।
यसैगरी प्रमुख सचेतक बालकृष्ण खाड, रामशरण महत, युवा नेता गगनकुमार थापा पनि शुक्रबार र शनिबार पोखराका विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न व्यस्त रहे।
विगतमा कास्की कांग्रेसमा जोसुकैले टिकट पाएपनि एउटा न एउटा नेताले बाउँठिएर असहयोग गर्ने गरेकोमा सम्भवत् पहिलो पटक कास्की कांग्रेसमा रहेका पूर्वसभामुख तारानाथ रानाभाट, शुक्रराज शर्मादेखि तल्लो तहका नेता र कार्यकर्तामात्र होइन केन्द्रीय तहका नेताहरुमा समेत अभूतपूर्व एकता र तालमेल देख्दा आममतदातामा समेत कांग्रेसमा पनि यस्तो हुन्छ र भन्ने अनौठो र सकारात्मक प्रश्न उठेको छ।
यसैबीच कास्की–२ का ११ वटै वडामा घरदैलो अभियान जारीे राखेको छ भने विभिन्न स्थानमा चुनावीसभा आयोजना भएको छ।
घरदैलोमार्फत मतदाता भेटेर जनताको गुनासो सुन्ने काम गरेको र चुनावीसभामार्फत पार्टी र उम्मेदवारका धारणा सर्वजनिक गरिएको कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए।
शनिबार पोखरा–१६ मा चुनावीसभा र १५ मा घरदैलो र कोणसभा आयोजना भएको उनले बताए। आइतबार सबै वडामा घरदैलो हुने सभापति केसीले बताए।
सोमबार १२ बजे पोखरा–११ र पोखरा–१७ मा चुनावीसभा हुने र सभालाई पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा लगायतले संवोधन गर्ने कार्यक्रम छ।
प्रकाशित मिति: बुधबार, मंसिर ४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय